देवेन्द्रकिशोर ढुंगाना बिर्तामोड । कोभिड १९ (कोरोना भाइरस) का कारण प्रदेश १ मा चार जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा दुई मोरङ, एक सिराहा र एक झापाका छन । मोरङका मृत्यु हुनेमा दुवै महिला छन् । झापा र सिराहाका भने पुरुष हुन ।

चार मध्ये तीन जनाको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा र एक जनाको विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । कोशी अस्पतालमा सिरहाको लहानकी ६५ वर्षीया महिलाको शुक्रवार विहान मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । फोक्सोमा समस्या भएर उनी गत बिहीबार अस्पताल पुगेको दासले बताए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापा, मोरङ र सिराहाका कोरोना संक्रतिमको मृत्यु भएको हो । झापाको कमल गाउँपालिका ३ का ८३ वर्षीय वृद्धको शुक्रवार विहान पौने ४ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार भदौ ३ गते कोरोना पुष्टि भएदेखि उनी प्रतिष्ठानमा उपचाररत थिए ।

दुवै मृगौला फेल भएर लामो समयदेखि डायलासिस गराइरहेका उनी उच्च रक्तचाप र मधुमेहका पनि दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ । यस्तै मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको विहान सवा ३ बजे मृत्यु भएको छ । उनमा भदौ ९ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । पहिला कोशी अञ्चल अस्पताल पुगेकी ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रतिष्ठानमा रिफर गरिएको थियो ।

यसैबीच, प्रतिष्ठानमै उपचारका क्रममा रहेका सिराहाका ५५ वर्षीय पुरुषको बिहीबार बेलुकी मृत्यु भएको छ । भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका सिराहा नगरपालिका १ का पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

उच्च रक्तचापका विरामी समेत रहेका उनलाई अवस्था जटिल भएपछि दुई दिनदेखि आइसियुमा राखेर उपचार गरिएको थियो । कोभिडबाट मोरङमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । प्रदेश १ मा हालसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ । जसमा ६ जना प्रदेशबाहिरका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार