समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

अन्तर्राष्ट्रिय महिला दिवस आज विविध कार्यक्रमका साथ मनाइँदै

हल्दिबारी, फाल्गुन २५ – ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।

Advertisement

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ। विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठनले पनि अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन्।

Advertisement

यस अवसरमा महिलाको प्रविधिमा पहुँच विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसा अन्त्य गर्ने लक्ष्य राखिएको छ। महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवं उचित सम्मान गर्ने उद्देश्य पनि यस दिवससँग गाँसिएको छ।

नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य तथा समतामूलक समाज निर्माण गर्ने नीति लिएको छ। महिलाको हक मौलिक हकको रूपमा स्थापित गरिएकाले राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको छ। हाल संघीय संसदमा ३४ प्रतिशत, प्रदेशसभामा ३६.५ प्रतिशत र स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि छन्। निजामती सेवामा पनि करिब २८ प्रतिशत महिलाको उपस्थिति रहेको छ।

सन् १९७५ देखि संयुक्त राष्ट्र संघले औपचारिक रूपमा नारी दिवस मनाउन थालेको हो। पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो। सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, उचित पारिश्रमिक पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। सोही आन्दोलनपछि महिला अधिकारबारे विश्वव्यापी चर्चा हुन थालेको बताइन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article