समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडको दिनो राजवंशी काण्ड: प्रहरी फेरिए तर अपराधी उम्किए

झापा , बैशाख २३ । २०७७ साल पुसको पहिलो साता झापाको बिर्तामोडमा घटेको एक दर्दनाक घटनाले अझै न्याय पाउन सकेको छैन। बिर्तामोड–२ चैतुवारीकी ४२ वर्षीया विवाहित महिला दिनो राजवंशीको बलात्कारपछि हत्या भएको घटना चार वर्ष बितिसक्दासमेत अझै समाधान हुन सकेको छैन।

Advertisement

२०७७ पुस ५ गते बिहान दिनो राजवंशीको शव मोहन मगरको खेतमा फेला परेको थियो। उनको नाक र मुखबाट रगत बगेको थियो, शव छेउमै खानाको पोको र टर्चलाइट भेटिएको थियो। अघिल्लो साँझ उनी श्रीमानलाई खाना पुर्‍याउन निस्किएकी थिइन्, तर रातभर बेपत्ता भएपछि बिहान शव फेला परेको थियो।

Advertisement

घटनापछि तत्कालीन डीएसपी मुकुन्द रिजालले धरानबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालेका थिए। श्रीमान वीरबहादुर राजवंशीसमेत अनुसन्धानको दायरामा परे, तर ठोस प्रमाण फेला नपरेपछि अनुसन्धान अधुरै रह्यो। त्यसपछि आउने डीएसपी रुगम कुँवरले बलात्कारपछि हत्या भएको पुष्टि गरे पनि अपराधी पत्ता लगाउन सकेनन्। पछि आएका सुरज कार्की र प्रकाश विष्टले फाइल नै नखोली मुद्दा ठण्डामा राखे।

२०७७ देखि २०८२ सालको बैशाखसम्म चार जना डीएसपीहरूले इलाका प्रहरी कार्यालय बिर्तामोडको नेतृत्व गरे, तर कसैले पनि दिनोको हत्यारालाई कानुनी कठघरामा ल्याउन सकेनन्। उनीहरूलाई बिर्तामोडबासीले सम्मानसहित बिदाइ गरे पनि दिनोको आत्माले अझै न्याय पाएको छैन।

हालै मात्र बिर्तामोड प्रहरीको कमान्ड सम्हालेका डीएसपी विजय श्रेष्ठले दिनो राजवंशीको पुरानो फाइल खोल्ने बताएका छन्। उनले अपराध नियन्त्रणमा प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

स्थानीय बासिन्दाहरूको माग छ—कञ्चनपुरकी निर्मला पन्तजस्तै दिनो राजवंशीको घटनामा पनि प्रहरीले असफलता नदेखाओस्। अपराधी जोकोही होस्, कानूनको कठघरामा ल्याइयोस्। चार वर्षदेखि प्रतीक्षामा रहेको न्याय अब ढिला नहोस्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article