झापा, २०८२ जेठ २० गते । झापा र सप्तरी जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयासमा झापाको दमकबाट एक ज्यान मार्ने उद्योग मुद्धाका फरार अभियुक्त पक्राउ परेका छन्।

प्रहरीका अनुसार, २०८१ साल चैत १० गते बिहान ८:०० बजे जिल्ला सप्तरी, शम्भुनाथ नगरपालिका–२ का स्थायी बासिन्दा तथा हाल झापा, दमक नगरपालिका–१ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ वर्षीय दिलिप कुमार मरीक डोमले आफ्नै श्रीमती रेणु मरिकलाई विष सेवन गराई हत्या गर्न खोजेको आरोपमा मुद्धा दर्ता गरिएको थियो। घटनापछि उनी फरार भएका थिए।

उनको खोजीका क्रममा इलाका प्रहरी कार्यालय दमक, झापा र इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीको समन्वयमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका मरीकलाई २०८२ जेठ १९ गते बिहान ९:१३ बजे इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको प्रहरीले जनाएको छ।
झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हाल उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा थप अनुसन्धान अगाडि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।