समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

हल्दिबारीमा सम्पन्न नकआउट फुटबल: वडा नं–५ को उत्कृष्ट खेल, उपाधि आफ्नो पक्षमा, वडा नं–३ उपविजेता

झापा, हल्दिबारी — हल्दिबारी माध्यमिक विद्यालयको खेलमैदान तीन सातासम्म फुटबलको उत्साहले भरिएको थियो। स्व. जगत बहादुर तथा नरमाया वन स्मृति प्रतिष्ठानद्वारा सञ्चालन गरिएको दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८२ आज औपचारिक रूपमा समापन भयो।

Advertisement

समापन दिन जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीबीचको मैत्रीपूर्ण खेलले कार्यक्रमको माहोल झन् रमाइलो बनायो। प्रारम्भिक मिनेटमै वडा नं–३ का अजित बिष्टले गरेको गोल नै खेलको टर्निङ प्वाइन्ट बन्यो, जसले जनप्रतिनिधि टोलीलाई १–० को जित दिलायो।

Advertisement

त्यसपछि सुरु भएको फाइनल खेल पूर्ण रूपमा वडा नं–५ को नियन्त्रणमा रह्यो। तिखो आक्रमण, बलियो समन्वय र गोलका अवसरको उत्कृष्ट उपयोग गर्दै उनीहरूले वडा नं–३ लाई ४–१ ले हराउँदै उपाधि सुरक्षित गरे। कप्तान आयुष थिङ्गले मैदानमा देखाएको नेतृत्व र खेलकौशलका आधारमा ‘म्यान अफ द म्याच’ बने।

कोशी प्रदेशका सांसद छवि चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलमैदानमा ठूलो भिड जम्मा भयो। स्थानीय जनप्रतिनिधि, वडाध्यक्षहरू, विभिन्न दलका प्रतिनिधि, खेलप्रेमी तथा गाउँबासीहरूको उत्साहपूर्ण उपस्थिति देखिन्थ्यो।

प्रतिष्ठानका संस्थापक मानबहादुर वन (महेन्द्र) ले प्रतियोगिताले युवालाई अनुशासन, समर्पण र स्वस्थ प्रतिस्पर्धातर्फ प्रेरित गर्ने बताए। स्वर्गीय माता–पिताको सम्झनामा माल्यार्पण गर्दै प्रमुख अतिथिले प्रतियोगिताको समापन घोषणा गरे।

छ वटै टिमबीच भएको प्रतिस्पर्धामा विजयी वडा नं–५ लाई २५ हजार रुपैयाँ, उपविजेता वडा नं–३ लाई १५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरियो। साथै विधागत खेलाडीहरूलाई पनि सम्मानित गरिएको थियो।

विधागत पुरस्कार विजेताहरू:

बेष्ट डिफेन्डर: अमृत मेचे

बेष्ट मिडफिल्डर: हिमाल लिम्बु

हाइ स्कोरर: संजोग भुजेल

बेष्ट फरवर्ड: विवेक लिम्बु

बेष्ट कोच: समिर फागो

प्लेयर अफ द टुर्नामेन्ट: हिमाल गुरुङ

गोलकिपर अफ द टुर्नामेन्ट: समीर परियार

सो अवसरमा प्रतिष्ठानले शिक्षा–समाजसेवी नरेन्द्र कार्की र बालगायिका निर्देशिका अछामी लगायतलाई सम्मान गर्यो। साथै वडा नं–५ ले प्रतिष्ठानका संस्थापक महेन्द्र वनलाई पनि सम्मान अर्पण गर्यो।

कार्यक्रम प्रतिष्ठानका संरक्षक अधिवक्ता डम्बर वनको अध्यक्षतामा, प्रधानाध्यापक टंकबहादुर पाख्रिनको स्वागत तथा शिक्षक तुलसी कोइरालाको सहजतामा सम्पन्न भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article