— नेत्रविक्रम बिमली

सीमाहरूले भूगोल बाँध्न सक्छन्, तर भाषा, संस्कृति र मुटुको ढुकढुकीलाई कहिल्यै बाँध्न सक्दैनन्। भारतको पश्चिम बङ्गालस्थित पर्यटकीय तथा व्यापारिक सहर सिलगुडीको मुटुबाट हरेक बिहान एउटा यस्तो भाषिक सङ्कल्प उदाउँछ, जसले सीमापारि रहेका करोडौँ नेपालीहरूको स्वाभिमानलाई सगरमाथाजस्तै उँचो बनाउँछ। त्यो अद्भूत र बहुमूल्य सङ्कल्पको नाम हो— ‘हिमालय दर्पण’।


जतिबेला भारतका गल्ली-गल्लीमा अङ्ग्रेजी र हिन्दीका हज्जारौँ पत्रपत्रिकाहरू पाँच भारतीय रूपैयाँमा सहजै उपलब्ध हुन्छन्, त्यतिबेला नेपाली भाषीहरूको आस्थाको प्रतीक मानिने ‘हिमालय दर्पण’ भने त्योभन्दा बढी मूल्यमा गर्वका साथ बिक्री हुन्छ। यो केवल पत्रिकाको मूल्य मात्र होइन, यो त भारतमा रहेका नेपालीहरूको सांस्कृतिक उँचाइ, भाषिक गरिमा र पाठकहरूको अतुलनीय जनविश्वासको जीवन्त प्रमाण हो। मूल्यको बजारमा ‘हिमालय दर्पण’ले कायम गरेको यो छुट्टै शान आफैँमा एउटा ऐतिहासिक क्रान्ति हो।

अहिलेको डिजिटल युगमा पनि दैनिक ५० हजारभन्दा बढी प्रति छापा संस्करण प्रकाशित हुनु कुनै साधारण कुरा होइन। सिलगुडी, सिक्किम, असम, डुवर्सदेखि लिएर नेपालका सीमावर्ती शहरहरूसम्म हरेक बिहान ‘हिमालय दर्पण’का पाना पल्टाउँदा नेपाली भाषा र साहित्यको बासना आउँछ। यसले प्रवासमा रहेका प्रत्येक नेपालीलाई आफ्नो माटो, पहिचान र अस्तित्वको बोध गराउँदै आएको छ।

हालै सिलगुडीको यात्राका क्रममा ‘हिमालय दर्पण’को मुख्य कार्यालयमा केही पल बिताउने सुअवसर मिल्यो। भारतीय सञ्चारकर्मी नरेन्द्र क्षेत्रीको आत्मीय सहयोगमा जब हामी त्यस पवित्र कार्यालयभित्र प्रवेश गर्यौँ, त्यहाँको वातावरणमा केवल समाचारको हतारो मात्र थिएन—त्यहाँ त अगाध नेपालीपन, गाढा माया र भारतीय नेपालीहरूको छाती चौडा बनाउने गौरवको अनौठो आभास थियो।

नेपाली भाषा, कला र साहित्यको जगेना गर्दै भारतिय माटोमा नेपाली भाषीहरूको शानलाई निरन्तर उच्च राख्न अहोरात्र खट्नुहुने सम्पादक शिबु क्षेत्री लगायत सिङ्गो ‘हिमालय दर्पण’ टोलीको योगदान इतिहासको स्वर्ण अक्षरले लेखिनेछ।

आफ्नै भाषाको दियो यसरी प्रज्वलित राखिरहनु सामान्य साहसको विषय होइन। ‘हिमालय दर्पण’ केवल एउटा समाचार पत्र मात्र होइन, यो त सम्पूर्ण नेपाली भाषीहरूको ढुकढुकी, पहिचान र स्वाभिमानको साझा ऐना हो। यसको यो अविराम यात्राले युगौँयुगसम्म नेपाली भाषाको शानलाई यसै गरी सगरमाथाझैँ अटल र उच्च राखिरहनेछ।
