विश्वमा एकैदिन पाँच लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै एक लाख ६१ हजारसहित पछिल्लो २४ घण्टामा पाँच लाख तीन हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको सङ्ख्या पाँच करोड ५३ लाख ३९ हजारभन्दा धेरै भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार तीन सयसहित १३ लाख ३१ हजार सात सयभन्दा धेरैले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण भएकामध्ये तीन करोड ८४ लाख ८३ हजारभन्दा धेरै निको भएका छन् भने अहिले विश्वभर एक करोड ५५ लाख २४ हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

झण्डै एक वर्षअघि चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा अहिले विश्वका दुई सय १७ देशमा पुगिसकेको छ । नौ वटा देशले भने सक्रिय संक्रमितको सङ्ख्या शून्यमा झारेर कोरोनामुक्त भएका छन् । भाइरस सुरु भएको चीनमा पनि अहिले तीन सय ७४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोपलगायतका देश फेरि समस्यामा पर्न थालेका छन् । संक्रमण बढेपछि युरोपेली देशमा फेरि लकडाउन तथा विभिन्न किसिमका प्रतिबन्ध सुरु गरिएका छन् । बेलायत, इटली, फ्रान्सलगायतका देशले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यु नै जारी गरेका छन् ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानम गेब्रेसियसले विश्वमा कोरोना भाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने बताएका छन् । उनले खोप महामारी नियन्त्रणका लागि अरू सबै उपायमध्येको एउटा उपाय मात्रै भएको भन्दै संक्रमितको मृत्युदर नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार