भद्रपुर/ भद्रपुर नगरपालिकाको वडा नं– ८ स्थित भानु प्राथमिक विद्यालयलाई बेलायती दाता संस्था ‘सेभ द स्कूल फाउण्डेशन’ले एउटा डेस्कटप कम्प्युटर, एउटा लेजर प्रिन्टर, ६ वटा ह्वाइट बोर्ड र मार्कर तथा छात्र–छात्राका लागि स्टेशनरी सामग्री प्रदान गरेको छ ।
दाता संस्थाका सक्रिय सदस्य लण्डन निवासी विनोद नेउपानेको विशेष पहलमा विपन्न वर्गका छात्र–छात्राहरू पढ्न आउने भानु प्राविलाई ती सहयोग सामग्री प्रदान गरिएको हो । यूके.कै ‘रे अफ् होप’ नामक संस्था समेत आबद्ध सो फाउण्डेशनले झापामा प्रदान गरेको यो सहयोग पहिलो हो ।
भद्रपुर नगरपालिकाका ८ न. वडाका अध्यक्ष गौरव सुब्बा (मनोज)को प्रमुख आतिथ्यमा ती सहयोग सामग्रीहरू माघ २१ गते सो विद्यालयकी प्रधानाध्यापक सीता बिमली र व्यवस्थापन समितिका अध्यक्ष जगदीश जोशीलाई हस्तान्तरण गरिएको छ ।
प्रदत्त सहयोग सामग्रीहरूको कूल लागतमध्ये फाउण्डेशनले ४२ हजार ५ सय ४० रुपैयाँ अनुदान उपलब्ध गराएको र त्यसमा अपुग भएको १० हजार रुपैयाँ विद्यालयले ब्यहोरेको दाता संस्थाका स्थानीय समन्वयकर्ता दम्पती शिक्षासेवी घनेन्द्रप्रसाद शर्मा र धरणी शर्माले जानकारी दिए ।
गत २०४५ सालमा स्थापित भानु प्रावि.मा हाल ८२ जना छात्र–छात्रा अध्ययनरत छन् भने बाल विकास सहित ४ जना शिक्षक कार्यरत रहेको प्रधानअध्यापक बिमलीले बताइन् ।
नेपालका सामुदायिक विद्यालयहरूलाई वर्षेनीजसो शैक्षणिक सामग्रीहरू निरन्तर उपलब्ध गराउँदै आएको यही फाउण्डेशनले पहाडी जिल्ला संखुवासभाको चैनपुर नगरपालिका क्षेत्रका सबैजसो प्राथमिक तहका सामुदायिक विद्यालयलाई एक/एक वटा कम्प्युटर र सबै कक्षामा आवश्यक ह्वाइट बोर्ड हस्तान्तरण गरिसकेको दातृ संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार