यूएईको अबुधाबीमा भएको बस दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् ।दुर्घटनामा ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान रहेको नेपाली दूतावासले जनाएको छ ।
यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना भएको थियो । अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एकजना श्रीलङ्काली र एकजना अफ्रिकन महिला कामदार छन् ।
२४ जना कामदार चढेको बस दुर्घटना हुँदा घाइते भएका अन्य १४ जनाको पनि नाम र ठेगाना खुलेको छ । घाइते १४ जनामध्ये पाँचजनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्माको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा उपचाररत छन् । घाइते १२ जनाको अवस्था सामान्य रहे पनि नुवाकोटकी सरिता तामाङको अवस्था भने चिन्ताजनक रहेको दूतावासले जनाएको छ ।
बिहीबार बिहान साढे ५ मा भएको दुर्घटनाबारे दूतावासले जानकारी पाए लगत्तै घटनास्थल र घाइतेहरुको अवस्था बुझ्न दूतावासका उच्च अधिकारीको टोली अस्पताल पुगेको थियो । राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायत दूतावासका स्थानीय कर्मचारी घाइते उपचाररत अस्पताल पुगेका थिए ।