समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पहिरोले अवरुद्ध ‘गल्छी–देवीघाट’ सडक अठ्ठाइस घण्टापछि सञ्चालनमा

नुवाकोट(‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बुधसिंहमा पहिरो गएर अबरुद्ध भएको सडक शुक्रबार रातिदेखि सञ्चालनमा आएको छ । बिहीबार अपराह्न सुक्खा पहिरो गएसँगै अवरुद्ध भएको सडक २८ घण्टापछि सञ्चालनमा आएको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’को कार्यालयका निमित्त प्रमुख रामबिहारी चौधरीले जानकारी दिनुभयो ।

Advertisement

उहाँको अनुसार चारवटा हेभी उपकरणको सहायताले लगातार १४ घण्टाको प्रयासमा सडक सुचारु गरिएको हो । “सडक माथिबाट आएको ढुङ्गामाटो पन्छाएर तत्कालका लागी सडक खुला गरिएको छ”, चौधरीले भन्नुभयो, “थप पहिरोको जोखिम कायमै भएकाले आउजाउ गर्दा सावधानी अपनाउनुपर्दछ ।”

Advertisement

अवरुद्ध भएको २८ घण्टापछि सडक सुचारु भएसँगै नुवाकोट र रसुवाको गन्तव्यमा जान रोकिएका सवारी साधन सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले जानकारी दिनुभयो । उहाँको अनुसार अझै पनि उक्त स्थानमा पहिरेको जोखिम देखिएकाले ट्राफिक प्रहरीको उपस्थितीमा जोखिम अबस्था हेरेर सवारीसाधन आउजाउ गराइएको छ ।

‘गल्छी–देवीघाट सडक खण्ड’ अन्तर्गत पर्ने उक्त स्थानमा गएको वर्ष ठूलोभिर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’अन्तर्गतको दाँयाबाँया ११ मिटरको व्यवस्थित सडक निर्माण गरिएको थियो । सोही समयमा पनि पहिरो गएकाले आकस्मिक नियन्त्रणको काम गरे पनि त्यो प्रभावहीन देखिएको हो ।

“सडकको करिब पाचसय मि माथिबाट खसेको सुक्खा पहिरोले दायाँबायाँ दुईसय मि सडक जोखिम बनाएको छ ।” योजना कार्यालयका नि प्रमुख चौधरीले भन्नुभयो, “सडकतल त्रिशूली नदी छ । अन्य वैकल्पिक सडक नभएकाले पहिरो रोकथामको लागि विशेष योजना सञ्चालन गर्न रिपोर्ट तयार गर्ने छौँ ।” ‘गल्छी–रसुवागढी सडक योजना’ विस्तारको क्रममा गल्छी, जिलिङ र तिरतिरे भिरमा ठूलो पहिरो उत्पत्ति भएकाले त्यहाँ थप ठेक्का लगाएर नियन्त्रणको काम भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article