समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

“मेरो उमेर र स्वास्थ्यको चिन्ता नगर्नुहोस्, मिसन २०८४ मा झन् बलियो भएर फर्किन्छौँ”: प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १० । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यको विषयमा अनावश्यक चिन्ता नगर्न सबैलाई आग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा आज आयोजित विशेष कार्यक्रममा बोल्दै ओलीले आफू न त अहिले बुढा भएको न त बिरामी भएको स्पष्ट पारे।

Advertisement

“कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ,” ओलीले भने, “अहिले म बिरामी छैन। अबको २०–२५ वर्षपछि बुढो हुन्छु। कसैले हतार गरेर हुँदैन।” उनले केपी ओली बिनाको एमाले कसैले कल्पना गर्न नसक्ने दाबी गर्दै, “मिसन २०८४ मा झन् बलियो भएर आउनेछौँ,” भने।

Advertisement

कार्यक्रममा अध्यक्ष ओलीले एमाले अहिले अस्तित्वको लडाइँमा नभई विजयको यात्रामा रहेको उल्लेख गरे। उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा रुपान्तरण गर्ने लक्ष्यसहित ‘मिसन २०८४’ अगाडि सारिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले एमालेले गणतन्त्र, समृद्धि र सुशासनका मुद्दामा अग्रपंक्तिमा रही कार्य गरिरहेको भन्दै, कुनै पनि षड्यन्त्रले पार्टी कमजोर नहुने दाबी गरे। “हामीले विकास र सुशासनको बाटो समातेका छौँ,” उनले भने, “बिग्रिएको स्थितिलाई सुधार्न सजिलो छैन तर हामी जनताको विश्वास जितेर अघि बढिरहेका छौँ।”

राजतन्त्र पुनःस्थापनाको कल्पना गर्नेहरूलाई लक्षित गर्दै ओलीले २१औँ शताब्दीमा पनि श्रीपेचको सपना देख्नु विडम्बनापूर्ण भएको टिप्पणी गरे। “संविधान नमान्ने, लोकतन्त्र नमान्ने, संवैधानिक राजतन्त्र खोज्नेहरूलाई जनताले चिन्न जरुरी छ,” उनले भने।

थाइल्याण्ड भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपाल सबै मुलुकहरूसँग मित्रवत सम्बन्ध कायम गर्न चाहने स्पष्ट पारे। “हामी कसैसँग शत्रुता राख्दैनौँ, सबैसँग मित्रता हाम्रो नीति हो,” उनले भने।

कार्यक्रममा अध्यक्ष ओलीले पार्टी कार्यकर्ताहरूलाई आत्मविश्वासका साथ अघि बढ्न र राष्ट्रिय एकता, न्याय र समानतासहितको समृद्ध राष्ट्र निर्माणमा समर्पित हुन आह्वान गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article