समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सडक आन्दोलनले सार्वजनिक यातायात प्रभावित, महासंघद्वारा आन्दोलनको चेतावनी

पछिल्लो समयमा राजधानी काठमाडौंमा विभिन्न नाममा भइरहेका सडक आन्दोलनका कारण सार्वजनिक सवारी साधन सञ्चालनमा समस्या भएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनको चेतावनी दिएको छ।

Advertisement

महासंघले मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै सडक केन्द्रित आन्दोलनका कारण यातायात क्षेत्र धरासायी बनेको उल्लेख गर्दै सरकारलाई तत्काल समाधानको पहल गर्न आग्रह गरेको हो।

Advertisement

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, राजधानीको बानेश्वरदेखि माइतिघरसम्मको मुख्य सडक खण्डमा २१ दिनदेखि जारी शिक्षक महासंघको आन्दोलनका कारण रत्नपार्क, कलंकी, अनामनगर, कुपण्डोल, बानेश्वर, भक्तपुर लगायतका रुटमा सयौं सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

“सवारी साधन गुडाउन नपाउँदा दैनिक आम्दानी रोकिएको छ। बैंकको महँगो व्याज दरमा किनिएको बसको किस्ता तिर्न समस्या भएको छ भने एक महिनादेखि कामदारको तलवसमेत दिन नसकिएको अवस्था छ,” सिटौलाले बताए। उनले आन्दोलनकर्ताले आफ्ना माग राख्दा आम नागरिकको अधिकारलाई समेत विचार गर्नुपर्नेमा जोड दिए।

महासंघले सडक आन्दोलनका कारण सार्वजनिक यातायात मात्र नभई सबै क्षेत्र प्रभावित भएको दाबी गरेको छ। यदि सरकारले तत्काल समस्या समाधान नगरेर सार्वजनिक यातायात सञ्चालनको वातावरण नबनाए महासंघ आफैं आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ।

महासंघले दुर्घटना न्यूनिकरण तथा सडकमा खडा गरिएका सवारी साधनबाट हुने कर असुलीका विषयमा पनि विभागको ध्यानाकर्षण गराएको छ। पछिल्लो समय राजधानीमा आवासीय चिकित्सक, राप्रपा, विभिन्न राजनीतिक दल, शिक्षक तथा अन्य समूहले सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन् जसले आम जनताको दैनिक आवागमनमा समेत ठूलो असर परेको छ। तस्विर: क्लिकमाण्डु

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article