समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

उदयपुरबाट झापा आउँदै गरेको यात्रुबस दुर्घटना, तीन जनाको मृत्यु, २३ जना घाइते

झापा, वैशाख १४ । उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टा आउँदै गरेको यात्रुबस आइतबार मध्यान्ह सप्तरीमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने २३ जना यात्रु घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्चनरुप नगरपालिका–१० स्थित बदगामा यात्रुबस अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ निवासी ७५ वर्षीय रत्नबहादुर मगरातीसहित एक पुरुष र एक महिलाको ज्यान गएको हो। गम्भीर घाइते भएका मगरातीलाई उपचारका लागि विराटनगर ल्याइए पनि अस्पतालमा पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बसमा ३५ जना यात्रु सवार थिए। घाइते २३ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ भने केहीको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई विराटनगरस्थित गोल्डेन अस्पताल र कन्चनरुप नगर अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये सुवेता दाहाल, चेतना भट्टराई, विजय विक, मनोज भट्टराई, मीना भट्टराई, कमला भुसाल, नरमाया मगर, भरत यादव, महमद असलम, वीरेन्द्र ठाकुर, सविता थापा, सुष्मा विष्ट, पवित्रा मगराती, विमलादेवी ठाकुर, मायादेवी थापा, श्याकुमार सदा, मनोज सदा, सनावती चौधरी, निर्मला गुप्ता, पुजनदेवी सिलवाल, गीता सिलवाल र बमबहादुर कार्की रहेका छन्।

बस चालक झापा मेचीनगर–७ का ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)