भद्रपुर, झापा — नेपाल सुनचाँदी व्यवसायी महासङ्घको आह्वानमा झापाको भद्रपुर शाखाले आज सबै सुनचाँदी पसलहरू बन्द गर्दै विरोध कार्यक्रमको आयोजना गरेको छ।

व्यवसायीहरूले सरकारद्वारा हालै सार्वजनिक गरिएको बजेटमा सुनमा थप गरिएको २ प्रतिशत विलासिता करको विरोध गर्दै सडकमा उत्रिएका हुन्।

सरकारले सुन आयातमा पहिले देखिनै लाग्दै आएको ६ प्रतिशत भन्सार शुल्क यथावत राख्न र विलासिता कर २ प्रतिशत लगाइएकोमा व्यवसायीहरू असन्तुष्ट भएका छन्। उनीहरूको माग छ — सरकारले करको दर पुनर्विचार गरोस् र व्यवसायमैत्री वातावरण निर्माण गरोस्।
आजको विरोध कार्यक्रममा भद्रपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष राजकिशोर सोनार र जिल्ला सहसचिव दीपककुमार शाहले मन्तव्य राख्दै आन्दोलनको औचित्य प्रस्तुत गरे। उनीहरूले सरकारसँग वार्ताको तयारी रहेको जनाउँदै कर घटाउनुपर्नेमा जोड दिएका छन्।
बिर्तामोडमा भोलि विरोध र्याली
महासङ्घको आह्वानमा झापा जिल्लाभरका पालिकाहरूमा सञ्चालित सबै सुनचाँदी व्यवसायीहरू भोलि बिर्तामोडमा विरोध र्यालीमा सहभागी हुने तयारीमा छन्। व्यवसायीहरूका अनुसार, करका कारण आयात महँगो भएको र त्यसले ग्राहक र व्यवसाय दुवै प्रभावित भएको छ।
सरकारसँग वार्ता नटुंगिए आन्दोलन अझ सशक्त बनाइने चेतावनी व्यवसायीहरूले दिएका छन्।