झापा । झापा जिल्ला, मेचिनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा २३ गते अपराह्न ३:०० बजे तिर एक जना बेवारिसे पुरुषको मृत्यु भएको छ।

स्वर्गीय व्यक्तिको पहिचान हालसम्म स्पष्ट भइसकेको छैन। अन्दाजी ५० वर्षीय भुन्टे कुर्मी नामले चिनिएका ती पुरुषलाई जिल्ला झापा, भद्रपुर नगरपालिका–१० क्षेत्रभित्र बेवारिसे अवस्थामा हिँडिरहेको भेटिएपछि मिति २०८२।०२।२२ गते भद्रपुर न.पा.द्वारा उद्धार गरी बाहुनडाँगीस्थित मानव सेवा आश्रममा ल्याएर राखिएको थियो।

उक्त आश्रममा सुतेको अवस्थामा ती पुरुष मृत फेला परेपछि घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी अधिकृतको टोली अनुसन्धान लगायतका कार्यका लागि घटनास्थलमा खटिएको छ। शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल, भद्रपुरमा पठाइएको जानकारी प्रहरी स्रोतले दिएको छ ।