झापा — देशकै प्रतिष्ठित बाल–प्रतिभा रियालिटी शो सारेगम प लिटल च्याम्स नेपाल–सिजन २ मा झापाका संस्कार सापकोटा सेकेण्ड रनरअप बनेका छन्। बिर्तामोडका ८ कक्षामा अध्ययनरत संस्कारले काठमाडौंमा सम्पन्न फाइनल प्रतिस्पर्धामा दमदार प्रस्तुति दिँदै दोस्रो रनरअपको उपाधि हात पारे।

बिर्तामोडस्थित सप्तक संगीतालयमा संगीत सिक्दै आएका संस्कारका प्रशिक्षक संगीत शिक्षकले उनलाई श्रम, अनुशासन र कलाप्रतिको समर्पणका कारण छोटो समयमा अग्रस्थानमा आउन सफल भएको जनाए। शिक्षकका अनुसार संस्कार सुरुदेखि नै स्वर, ताल र अभिव्यक्ति तीनै पक्षमा सक्षम मानिएका प्रतिभा हुन्।

देशभरबाट आएका सहभागीसँग प्रतिस्पर्धा गर्दै फाइनलमा पुगेका संस्कारले गुलाम अलीको लोकप्रिय गीत ‘किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ’ प्रभावशाली शैलीमा प्रस्तुत गरेका थिए। उनका प्रस्तुतिले निर्णायकमण्डल र दर्शक दुवैबाट उच्च प्रशंसा बटुलेको थियो।

उपाधिसँगै संस्कारले तीन लाख रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्रसहित काठमाडौंस्थित मिडभ्याली कलेजमा प्लस–टु तहसम्म पूर्ण छात्रवृत्ति पाएका छन्। साथै, उनी दुईवटा म्युजिक भिडियोमा अभिनय वा गायन गर्ने अवसर प्राप्त गर्दै संगीत यात्रामा नयाँ ढोका खुलेको बताइएको छ।

प्रणमी सम्प्रदायमा भजन गाएर पहिचान बनाइ सकेका संस्कार स्थानीय मञ्चदेखि राष्ट्रिय स्तरसम्म चर्चामा आएका छन्। विद्यालयका शिक्षकले पनि संस्कारको सफलताप्रति खुसी व्यक्त गर्दै, “पढाइ र कलालाई सन्तुलनमा राखेर अघि बढ्ने उनको क्षमता प्रशंसनीय छ,” भनेका छन्।

झापा साँच्चिकै प्रतिभाको भण्डार हो भन्ने कुरालाई संस्कारको उपलब्धिले फेरि एकपटक पुष्टि गरेको स्थानीयवासीको टिप्पणी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार