बिर्तामोड, मंसिर १८ – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिसले शानदार प्रदर्शन गर्दै न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

आज भएको खेलमा पुलिसले क्रमशः १९–२५, १४–२५ र १७–२५ को सेटमा न्यु डायमन्डलाई स्तब्ध पारेको थियो। खेलको प्लेयर अफ द म्याच प्रहरी क्लबकी रिमा कुँवर घोषित भइन्। उनलाई व्यवसायी बलराम कार्की लगायतले नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्रदान गरे।

भोलि प्रतियोगितामा पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ भने दोस्रो खेलमा कोशी प्रदेश भलिबल टिम र नेपाल पुलिस क्लब भिड्नेछन्।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र त्रिभुवन आर्मी रहेका छन् भने समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस छन्।

पहिलो सेमिफाइनल खेल मंसिर २० गते बिहान ९ बजे समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच तथा दोस्रो सेमिफाइनल दिउँसो २ः३० बजे समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ।

अर्जुनधारा–६ स्थित लक्ष्मी माविको मैदानमा फाइनल मंसिर २१ गते आयोजना हुने आयोजकले जनाएका छन्। झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो। विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रो टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

सर्वोत्कृष्ट खेलाडीले १५ हजार, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँसहित ट्रफी पाउने छन्। त्यसैगरी, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार