सयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा १० लाख अमेरिकी डलर तिर्न सक्ने धनी विदेशीलाई लक्षित गर्दै ‘गोल्ड कार्ड’ नामक विशेष आप्रवासन योजना सार्वजनिक गरेका छन्। ट्रम्पले यसअघि वर्षको आरम्भतिर घोषणा गरेको यो कार्यक्रमले “योग्य र जाँच गरिएका” व्यक्तिलाई अमेरिकी नागरिकतासम्म पुग्ने सोझो बाटो खोलिदिने बताइएको छ।

ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै गोल्ड कार्डले अमेरिकी कम्पनीहरूलाई विश्वभर रहेका “मूल्यवान् र प्रतिभाशाली” व्यक्तिहरूलाई आफूसँगै राख्न मद्दत गर्ने दाबी गरेका छन्। योजनाको आधिकारिक वेबसाइटका अनुसार अमेरिकालाई “उल्लेख्य योगदान” पु-याउन सक्ने प्रमाणित आवेदकलाई द्रुत गतिमा स्थायी बसोबास (ग्रीन कार्ड) दिने व्यवस्था मिलाइएको छ।

यस योजनाअनुसार स्थायी बसोबास सुनिश्चित गर्न आवेदकले १० लाख डलर तिर्नुपर्छ, जसलाई अमेरिकालाई हुने योगदानको “प्रमाण”का रूपमा लिइने उल्लेख छ। आवेदन दर्ता अघि १५ हजार डलर ‘प्रशोधन शुल्क’ तिर्नुपर्ने भने त्यो रकम फिर्ता नहुने जनाइएको छ।

प्ल्याटिनम कार्ड पनि आउने

व्यापार व्यवसायहरूले आफ्ना कर्मचारीलाई प्रायोजन गर्न २० लाख डलर र अतिरिक्त शुल्क तिर्नुपर्नेछ। छिट्टै ‘प्ल्याटिनम कार्ड’ पनि सार्वजनिक गर्ने तयारी भएको र ५० लाख डलर तिरेका व्यक्तिलाई विशेष कर छुट पाउने व्यवस्था वेबसाइटमा उल्लेख छ।

ट्रम्पले गोल्ड कार्डलाई ग्रीन कार्डको विकल्पसमेत भएको बताउँदै यसले विभिन्न आयस्तरका आप्रवासीलाई अमेरिकामा दीर्घकालीन बसाइ र कामको अधिकार दिने बताएका छन्। सामान्य ग्रीन कार्डधारीले पाँच वर्षपछि नागरिकता लिन सक्ने व्यवस्था रहँदै आएको छ।

डेमोक्र्याट नेताहरूले भने यो योजना धनी वर्गका लागि मात्र लाभदायी भएको भन्दै आलोचना गरिरहेका छन्। यसैबीच, ट्रम्प प्रशासनले आप्रवासीहरूलाई देशनिकाला गर्न ठूलो स्रोत खर्च गरिरहेकै बेला धनी विदेशीका लागि यस्तो कार्यक्रम ल्याइएको भन्दै प्रश्न उठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार