नेत्र बिक्रम बिमली / भद्रपुर (झापा) । देशकै पुराना नगरपालिकाहरूमध्येको एक गौरवशाली इतिहास बोकेको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर सभाको अठारौं अधिवेशनमा नगर प्रमुख श्री गणेश पोखरेलज्यूले “स्वच्छ र स्वस्थ नगर, भद्रपुर शहरको आधार” र “समृद्ध नगरको परकल्पना, हामी सबैको साझा चाहना” भन्ने मूल नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। विगतका राजनीतिक उतारचढाव र आन्दोलनका कठिन परिस्थितिलाई चिर्दै अघि बढेको भद्रपुरले यस पटक कृषि, उद्यमशीलता, पूर्वाधार र प्रविधिको सन्तुलित विकासलाई उच्च प्राथमिकतामा राखेर आफ्नो योजना बुनेको छ।
नीति तथा कार्यक्रमको सुरुवात गर्दै नगर प्रमुख पोखरेलले २०८२ साल भाद्र २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यस क्रममा नगरपालिकाको मुख्य भवन, वडा कार्यालय एवं जनप्रतिनिधिहरूको निजी आवासमा भएको आगजनी र भौतिक क्षतिको दुःखद क्षण स्मरण गर्नुभयो। त्यस विषम परिस्थितिमा त्यही खरानीमाथि उठेर भद्रपुर नगरबासीको सेवामा समर्पित भएको बताउँदै उहाँले कुनै पनि हिंसात्मक गतिविधि विकासका बाधक हुने र अब कानुनी शासन तथा सुशासनलाई नै मुख्य आधार बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भद्रपुरले यस वर्ष आधुनिक प्रविधि र पर्यटनको क्षेत्रमा महत्त्वाकांक्षी कदम चाल्ने घोषणा गरेको छ। नगरभित्र ‘साइन्स सिटी’ (Science City) को निर्माण कार्यलाई अन्तिम रूप दिई सञ्चालनमा ल्याइने नीतिमा उल्लेख छ। त्यस्तै, पुरातत्त्व विभागबाट २२०० वर्ष पुरानो मान्यता पाइसकेको ऐतिहासिक कचिकबध धार्मिक तथा पुरातात्त्विक स्थललाई विश्व सम्पदा सूचीमा समावेश गर्न विशेष पहल गरिने भएको छ। यस क्षेत्रको प्रचारका लागि कमलधाप र चन्द्रगढ क्षेत्रसहित हुलाक टिकट प्रकाशन गर्ने तथा आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठान (संग्रहालय) स्थापना गर्ने कार्यलाई तीव्रता दिइनेछ।
नगरपालिकाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन कृषि क्षेत्रमा “एक वडा एक उत्पादन” कार्यक्रम ल्याउने भएको छ। यसै वर्षदेखि नगरमा रहेको चिस्यान केन्द्र (Cold Store) सञ्चालनमा आउनेछ भने दूध संकलनका लागि चिस्यान तथा प्रशोधन केन्द्र स्थापना गरिनेछ। कृषकहरूका लागि निःशुल्क माटो परीक्षण र कृषि विद्युत महसुलमा नगरपालिकाले अनुदान दिने नीतिलाई निरन्तरता दिइएको छ। उद्यम र रोजगारी तर्फ लामो समयदेखि बन्द रहेको ‘मोमेन्टो एपेरिएल्स’ लगायतका उद्योगहरू पुनः सञ्चालनमा ल्याउन संघीय र प्रदेश सरकारसँग विशेष पहल गरिनेछ। धेरै रोजगारी दिने ठूला उद्योग र घरेलु लघुуद्यम खोल्नेहरूलाई कर छुटको व्यवस्था मिलाइनेछ भने उत्पादित वस्तु बिक्रीका लागि ३ ठाउँमा ‘कोसेली घर’ सञ्चालन गरिनेछ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि नवीन योजनाहरू अघि सारिएका छन्। सामुदायिक विद्यालयका कक्षाकोठाहरूलाई क्रमशः ‘स्मार्ट कक्षा’ मा रूपान्तरण गर्दै लगिने रणनीति नगरपालिकाले अख्तियार गरेको छ। स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक “भद्रपुर सेरोफेरो” कक्षा १ देखि ५ सम्म लागू भइसकेको र कक्षा ६ देखि ८ सम्मको पुस्तक शैक्षिक वर्ष २०८४ बाट विद्यार्थीको हातमा पुर्याइने नीतिमा उल्लेख छ। मेची पारि क्षेत्रबाट कक्षा ७ उत्तीर्ण गर्ने छात्राहरूका लागि साइकल वितरण कार्यक्रम समेत समेटिएको छ। स्वास्थ्यतर्फ गर्भवती र सुत्केरी आमाहरूका लागि पौष्टिक आहार सुनिश्चित गर्न “आमासँग नगर उप-प्रमुख कार्यक्रम” र ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य सेवा अभियान सञ्चालन गरिनेछ। मेची पारी सामुदायिक स्वास्थ्य इकाईको स्थायी भवन निर्माण गरिने र नगरमा निःशुल्क शववाहन सेवालाई निरन्तरता दिइने घोषणा गरिएको छ।
भौतिक पूर्वाधार तर्फ नगरपालिकाले नगरस्तरीय यातायात गुरुयोजना (MTMP) र रिसोर्स म्यापिङका आधारमा मात्र अबका विकास योजना तय गर्ने बताएको छ। मुख्य बजार र चोकहरूमा ‘Himax Light’ तथा हात्ती प्रभावित एवं पर्यटकीय क्षेत्रमा ‘Sensor Light’ र CCTV क्यामरा जडान गरिनेछ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण कार्य पुनः सुचारु गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकिएको नगर प्रमुखले सभामा जानकारी दिनुभयो।
यसैगरी प्रशासनिक सुधारतर्फ बेरुजु फछ्र्योटमा ‘शून्य सहनशीलता’ अपनाइने र कार्यालयका करार तथा ज्यालादारी कर्मचारीहरूलाई यसै आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध गराइने भएको छ, जसले कर्मचारीको मनोबल उच्च राख्ने अपेक्षा गरिएको छ। सीमा सुरक्षा र व्यापार विस्तारका लागि भद्रपुर भन्सारको स्तरोन्नति गर्न र खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट (BOP) लाई स्थायी गर्न संघीय सरकार समक्ष जोडदार माग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सीमित स्रोत र साधनका बीच जनअपेक्षा धेरै भए पनि यो नीति तथा कार्यक्रमले समृद्ध र व्यवस्थित भद्रपुरको बलियो जग बसाल्ने विश्वास नगर नेतृत्वले लिएको छ।







