हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

नेपाली सेनाको नेतृत्वमा उद्धार र राहत कार्य तीव्र: हजारौँको जीवन रक्षा, टनेल तथा दुर्गम क्षेत्रमा खोजी जारी

काठमाडौँ, २६ भाद्र। नेपालमा हालै आएको विनाशकारी प्राकृतिक विपद्पछि प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाली सेनाले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्दै अभूतपूर्व नेतृत्व प्रदर्शन गरिरहेको छ। दुर्गम पहाडी भूभाग, बाढी तथा पहिरो प्रभावित इलाकामा नेपाली सेनाको सक्रियता र समन्वयात्मक भूमिकाले हजारौँ सर्वसाधारण तथा विदेशी नागरिकहरूको ज्यान जोगिन सफल भएको छ।

Advertisement

​शुक्रबार (२०८३ भाद्र २६ गते) साँझ ५:३० बजेसम्म प्राप्त आधिकारिक अद्यावधिक विवरण अनुसार नेपाली सेनाले जल, थल र आकाश तीनै मार्गबाट उद्धार कार्यलाई तीव्र बनाएको छ। दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका इलाकाहरूबाट नेपाली सेनाका हवाई साधनहरू निरन्तर उद्धार उडानमा व्यस्त रहेका छन्। आज मात्रै हवाई साधनमार्फत ३० जनाको सकुशल उद्धार गरिएको छ भने योसँगै हालसम्म सेनाको हवाई टोलीले ३,८५४ जना स्वदेशी र २८३ जना विदेशी नागरिक गरी कुल ४,१३७ जनाको सफल उद्धार गरिसकेको छ।

Advertisement

​जलविद्युत आयोजनाका टनेल तथा सुरुङभित्र थुनिएका वा बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेनाको टोलीले उच्च जोखिमका बीच कार्य गरिरहेको छ। रसुवागढी जलविद्युत आयोजनामा Composite Quick Reaction Team तथा विदेशी विज्ञहरूसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ भने लाङटाङ हाइड्रोको टनेलभित्र नेपाली सेनाको टोलीले खोजी अभियान चलाइरहेको छ। चिलिमे हाइड्रोमा भारी उपकरण लैजानका लागि सेनाले टनेलसम्मको बाटो निर्माण सम्पन्न गरी टनेलभित्रको लेदो फाल्ने र खोजी कार्यलाई तीव्रता दिने काम गरिरहेको छ। यस्तै माथिल्लो त्रिशूली-१ को हाकुबेशी स्थित Audit 1 टनेलको २०० मिटरसम्मको इलाकामा नेपाली सेनाले अत्याधुनिक ‘ड्रोन’ मार्फत रेकी गरी खोजी सञ्चालन गरिरहेको छ भने त्रिशूली ३-ए र ३-बीका पावरहाउस तथा टनेल क्षेत्रमा पनि संयुक्त टोलीसँगै खोजी कार्य जारी राखिएको छ।

​स्थल मार्गमा नेपाली सेनाका ८ हजार ७ सय भन्दा बढी सैनिकहरू प्रत्यक्ष रूपमा मैदानमा खटिएका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा सैनिक टोलीले समन्वयात्मक रूपमा घाइतेहरूको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी तथा अवरुद्ध सडक र पुल खुलाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ। प्रभावित क्षेत्रका त्रिशुली पारी कोलोनी, तुप्चे, दानसिङ र सामरी भञ्ज्याङ्गलगायतका स्थानहरूमा सेनाले निरन्तर पैदल गस्ती गरी खोजी जारी राखेको छ।

​उद्धारका साथै प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन सेनाको मेडिकल टोली सक्रिय रहेको छ। स्याफ्रुबेसी होल्डिङ्ग सेन्टरमा सञ्चालित स्वास्थ्य शिविरबाट आज ५४ जना लाभान्वित भएका छन्। यस्तै नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज ८५ जनाले उपचार पाएका छन्, जसबाट हालसम्म कुल ३,६६५ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्। प्राकृतिक विपद्को यस कठिन घडीमा नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर खेलेको साहसिक र मानवीय भूमिकाको सर्वत्र प्रशंसा भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)