हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दीबारीमा जापानीज इन्सेफ्लाइटिस विरुद्ध खोप अभियान सञ्चालन हुँदै: असोज ५ गतेदेखि ३० वर्षमाथिका सबैलाई खोप लगाइने

हल्दीबारी, झापा — झापाको हल्दीबारी गाउँपालिकामा असोज ५ गतेदेखि जापानीज इन्सेफ्लाइटिस विरुद्धको बृहत् खोप अभियान सञ्चालन हुने भएको छ। अभियानलाई प्रभावकारी बनाउन र समुदायस्तरमा व्यापक प्रचार-प्रसार पुर्‍याउन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्थानीय सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक र सञ्चारकर्मीहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

Advertisement

​जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणका कारण हल्दीबारीमा एक जनाको मृत्यु भइसकेकाले यस गाउँपालिकालाई जिल्लामै उच्च जोखिमयुक्त र संवेदनशील क्षेत्रका रूपमा हेरिएको छ। सम्भावित जोखिमबाट पालिकावासीलाई जोगाउन स्वास्थ्य शाखाले ३० वर्षभन्दा माथिका सबै नागरिकहरूलाई अनिवार्य रूपमा खोप लगाउन आह्वान गरेको छ।

Advertisement

​गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार असोज ५ गतेदेखि सुरु हुने अभियानमा लक्षित समूहसम्म सही सूचना पुगोस् र खोपबारे कुनै भ्रम नरहोस् भन्ने उद्देश्यले शिक्षक र सञ्चारकर्मीहरूसँग अभिमुखीकरण गरिएको हो। समाजमा शिक्षक र पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालय र सञ्चारमाध्यममार्फत अभियानको प्रचार-प्रसार चुस्त बनाइने उहाँले जानकारी दिनुभयो।

​स्वास्थ्य शाखाले असोज ५ गतेदेखि सञ्चालन हुने यस खोप शिविरमा आफ्नो पायक पर्ने नजिकैको खोप केन्द्रमा पुगी समयमै खोप लगाएर आफ्नो र परिवारको स्वास्थ्य सुरक्षित राख्न सम्पूर्ण हल्दीबारीवासीमा हार्दिक अपिल गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)