हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

कांग्रेस महाधिवेशन: झापाका १३१ वटै वडामा खटाइयो निर्वाचन अधिकृत

झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि सुरु हुने निर्वाचन प्रक्रियाका लागि नेपाली कांग्रेस झापाले जिल्लाका सबै १३१ वटै वडामा निर्वाचन अधिकृत खटाएको छ।

Advertisement

​निर्वाचन निर्देशिका तथा पार्टी विधानका व्यवस्थाबारे जिल्ला तहमा प्रशिक्षण दिएपछि निर्वाचन अधिकृतहरूलाई सम्बन्धित वडामा पठाइएको हो। प्रशिक्षणका क्रममा जिल्ला निर्वाचन अधिकारी दिव्यराज घिमिरेले महाधिवेशनलाई सहमति, सहकार्य र एकताको माध्यम बनाउँदै निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरे।

Advertisement

​निर्देशिकाअनुसार वडा अधिवेशनबाट छ पदाधिकारीसहित कम्तीमा १७ सदस्यीय वडा समिति निर्वाचित हुनेछ। क्रियाशील सदस्यको संख्याका आधारमा न्यूनतम २३ देखि अधिकतम ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।

​नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले यसपटकको अधिवेशनमा अधिकतम सहमति, सहकार्य र एकता कायम गरी सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे। उनका अनुसार पार्टीले खुला, महिला, पेशागत तथा विषयविज्ञ, ३५ वर्षमुनिका युवा, समानुपातिक, अपाङ्गता, दलित, प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्वपीडित र श्रमिकलगायतका क्लस्टरको व्यवस्था गरेको छ।

​पार्टीको कार्यतालिकाअनुसार असोज ७ गते गाउँ तथा नगर अधिवेशन र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन हुनेछ। गाउँ तथा नगर अधिवेशनबाट गाउँ/नगर समिति र प्रदेशसभा क्षेत्रीय निर्वाचनबाट प्रदेश समिति एवम् कोशी प्रदेशका लागि अधिवेशन प्रतिनिधि चयन हुनेछन्। प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनबाट भने क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।

​विधानअनुसार गाउँ/नगर, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रीय सभापति पदमा उम्मेदवार बन्न सम्बन्धित तहको क्षेत्रीय प्रतिनिधि हुनुपर्नेछ भने जिल्ला सभापति, प्रदेश सभापति तथा केन्द्रीय सदस्यका लागि महाधिवेशन प्रतिनिधि हुनु अनिवार्य छ।

​झापा कांग्रेसका कार्यालय सचिव जयकुमार दाहालका अनुसार विधानको ११औँ संशोधनले गाउँ/नगर र प्रदेशसभा क्षेत्रीय सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि तथा प्रतिनिधिसभा क्षेत्रीय सभापतिलाई पदेन महासमिति सदस्य हुने व्यवस्था गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)