हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

बाह्रदशीको माटोमा खेलकुदको नवविप्लव: प्रथम बाह्रदशी उपाध्यक्ष कप कराते प्रतियोगिता असोज ११ मा!

झापामा प्रदेशस्तरीय ‘उपाध्यक्ष कप कराते’ हुने, ३५० भन्दा बढी खेलाडी भिड्दै

Advertisement

झापा । झापाको बाह्रदशी गाउँपालिकामा प्रथम बाह्रदशी उपाध्यक्ष कप आमन्त्रित कोशी प्रदेशस्तरीय कराते प्रतियोगिता आयोजना हुने भएको छ। बाह्रदशी कराते डोजोको आयोजनामा यही असोज ११ गते उक्त प्रतियोगिता हुन लागेको हो।

Advertisement

​प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र इलामका गरी ३५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक समितिले जनाएको छ।

​शनिबार वडा नम्बर ६ स्थित बिहीबारे बजार व्यवस्थापन समितिको सभा हलमा पत्रकार सम्मेलन गर्दै बाह्रदशी खेलकुद विकास समितिका अध्यक्ष डिकबहादुर श्रेष्ठले प्रतियोगिताको तयारीबारे जानकारी गराएका हुन्।

​आयोजक समितिका कराते प्रशिक्षक मुकेश गजमेरका अनुसार प्रतियोगितामा २५, ३०, ३५, ४०, ४५, ५०, ५५ केजी र ६० केजीभन्दा माथिको तौल समूहमा महिला तथा पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

​प्रतियोगितामा आयोजक बाह्रदशी गाउँपालिकासहित हल्दीबारी, बुद्धशान्ति, कन्काई, दमक, बिर्तामोड र अर्जुनधाराका साथै मोरङ, सुनसरी र इलामका खेलाडीहरू मैदानमा उत्रिनेछन्।

​प्रतियोगिता सम्पन्न गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। रकम व्यवस्थापनका लागि गाउँपालिका, वडा कार्यालयहरू र स्थानीय व्यवसायीहरूसँग सहयोगको अपिल गरिएको वडा नम्बर ६ का वडा सदस्य एवं खेल आयोजक समितिका सल्लाहकार गङ्गाराम धितालले जानकारी दिए।

​गाउँपालिकामै पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगिता पालिकाकै गौरवको कार्यक्रम भएकाले स्थानीय तह र सबै पक्षबाट भरपूर सहयोग रहने विश्वास धितालले व्यक्त गरे।

​प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँका साथै ट्रफी र मेडल प्राप्त गर्नेछन्। यस्तै, विधागत रूपमा उत्कृष्ट ठहरिने खेलाडीहरूलाई पनि मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)