अभिषेक खतिवडा

हल्दिवारी (झापा ) । नेपाली कांग्रेस हल्दिबारी गाउँपालिका–३ वडा कार्यसमितिको अधिवेशन आइतबार सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले प्रेम न्यौपानेको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ।

पूर्व वडा सभापति धनबहादुर सावाको अध्यक्षतामा भएको अधिवेशनमा महाधिवेशन प्रतिनिधि एवं कांग्रेस नेता कृष्णप्रसाद प्रसाईं प्रमुख अतिथि थिए। कार्यक्रममा महाधिवेशन प्रतिनिधि जगत बस्नेत, झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव भूपाल बस्नेत, जिल्ला सदस्य पुस्तकराज नेपाल लगायतका नेता-कार्यकर्ताको उपस्थिति थियो।
अधिवेशनले उपसभापतिमा ममता राउत (खत्री) र अर्जुन गिरी, सचिवमा भीम काफ्ले तथा सहसचिवमा राजेन्द्र वानियाँलाई चयन गरेको छ। सदस्यहरूमा भीमकुमारी वन, डिल्लीराम उप्रेती, विद्यानन्द महत्तो र अमृत गुरुङ चुनिएका छन्। कोषाध्यक्ष भने आगामी बैठकबाट चयन गरिने जनाइएको छ। निर्वाचन मण्डलीको संयोजकको भूमिका विनोद भण्डारीले निर्वाह गरेका थिए।
त्यस्तै, अधिवेशनले झापा क्षेत्र नम्बर ३ का लागि विभिन्न समावेशी समूहबाट क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ।
खुलातर्फ सरोज विमली, हेमन्त मैनाली, दाताराम खतिवडा, अर्जुनप्रसाद गिरी र विनोदकुमार दाहाल चयन भएका छन् भने महिलातर्फ तारादेवी ढुङ्गेल, नरमाया गिरी र निरादेवी दाहाल चुनिएका छन्। खस–आर्यतर्फ कर्णबहादुर गिरी र हरिप्रसाद रेग्मी, पेशातर्फ पदमबहादुर वन, श्रमिकतर्फ विष्णुप्रसाद दाहाल तथा आदिवासी जनजातितर्फ धनबहादुर सावा, शेखर मेचे र प्रतिमा भुजेल चयन भएका छन्।
यसैगरी अपाङ्गतातर्फ लालबहादुर कन्दङवा, दलिततर्फ चन्द्रबहादुर दर्जी, मधेसीतर्फ सतेन्द्र कर्ण, अल्पसंख्यकतर्फ महेन्द्र ठाकुर, युवातर्फ आयुष मेचे र गुणराज निरौला तथा प्रजातन्त्र सेनानीतर्फ दिलबहादुर गुरुङ र वेदनिधि दाहाल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका छन्।
निर्वाचन संयोजक भण्डारीले नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। लगत्तै पूर्व सभापति सावाले नवनिर्वाचित सभापति न्यौपानेलाई माइन्युट बुझाएर औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रसाईंले लोकतान्त्रिक मूल्य–मान्यता, विधि र पार्टीको आदर्शलाई आत्मसात् गर्दै जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। क्षेत्रीय सचिव बस्नेतले सर्वसम्मत रूपमा नेतृत्व चयन भएकोमा खुसी व्यक्त गर्दै नयाँ टिमलाई बधाई दिएका थिए।
अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप चुस्त र सक्रिय बनाउँदै जनतासँगको सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
