हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

सिक्किममा १० दिने ‘सरल, मानक संस्कृत शिविर’ सुरु

सिक्किम । कञ्चनजङ्घा राज्य विश्वविद्यालयको संस्कृत विभाग र केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्लीको संयुक्त आयोजनामा १० दिने ‘सरल, मानक संस्कृत शिविर’ सुरु भएको छ। तादोङस्थित नरबहादुर भण्डारी सरकारी महाविद्यालयको प्रेक्षागृहमा सोमबार आयोजित विशेष समारोहका बिच शिविरको उद्घाटन गरिएको हो।

Advertisement

​विद्यार्थी तथा संस्कृत भाषाप्रति रुचि राख्ने सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविर असोज ४ देखि १३ (सेप्टेम्बर २१ देखि ३०) सम्म सञ्चालन हुनेछ। संस्कृत भाषाको प्रचारप्रसार तथा सहज सिकाइलाई प्रवर्धन गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ।

Advertisement

​अखिल सिक्किम खस क्षेत्री-बाहुन कल्याण सङ्घका अध्यक्ष एवम् सिक्किम सरकारको ग्रामीण विकास विभागका अध्यक्ष नारायण खतिवडाको मुख्य आतिथ्यमा आयोजित कार्यक्रमको अध्यक्षता कञ्चनजङ्घा राज्य विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. सुधन प्रधानले गरेका थिए।

​उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि खतिवडाले संस्कृत भाषा भारतीय ज्ञान, संस्कृति र सभ्यताको जग भएको उल्लेख गर्दै यसको संरक्षण र संवर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताए। उनले यस्ता तालिमलाई १० दिनमा मात्र सीमित नराखी निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

​कार्यक्रमका अध्यक्ष डा. सुधन प्रधानले संस्कृतको आधुनिक विकासका लागि पोडकास्ट, सङ्गीत, समाचार तथा पत्रपत्रिका जस्ता माध्यमको प्रयोग हुनुपर्ने धारणा राखे। त्यस्तै, सिक्किम विश्वविद्यालयका प्राध्यापक प्रो. भोजकुमार आचार्यले संस्कृतलाई सबैभन्दा प्राचीन एवम् भारतीय भाषाहरूको जननी मानिने बताउँदै विद्यार्थीहरूलाई यस शिविरबाट व्यवहारिक ज्ञान हासिल गर्न आग्रह गरे।

​संस्कृत विभागका सहायक प्राध्यापक एवम् शिविर संयोजक डा. युवराज घिमिरेले कार्यक्रमको उद्देश्य र विस्तृत रूपरेखा प्रस्तुत गरेको सो उद्घाटन समारोहमा विभिन्न कलेजका प्राध्यापक, बुद्धिजीवी तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)