झापा । आगामी असोज ८ देखि १२ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै हल्दिबारी गाउँपालिका–३ मा वडास्तरीय विपद् व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी बैठक सम्पन्न भएको छ।

सम्भावित भारी वर्षाका कारण हुनसक्ने बाढी, डुबान र कटानजस्ता विपद्का घटनालाई न्यूनीकरण गर्न पूर्वतयारी, सतर्कता, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले वडा कार्यालयमा बैठक आयोजना गरिएको हो।

वडा अध्यक्ष विष्णु प्रसाद ओलीको संयोजकत्वमा बसेको बैठकले वडाभित्रका सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै आपत्कालीन अवस्थामा तत्काल उद्धार तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ। यसका लागि जनशक्ति, सुरक्षा निकाय, स्वास्थ्य संस्था, नेपाल रेडक्रस, युवा तथा स्वयंसेवक र स्थानीय संघ–संस्थाबीचको समन्वयलाई थप प्रभावकारी बनाइनेछ।
बैठकले वडा नं. ३ स्थित देउनिया, भुसुडी, डुम्फु, ढडुवा र काजली खोला आसपासका क्षेत्रलाई सम्भावित जोखिमयुक्त मान्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ। खोलानाला तथा नदीको बहाव बढेको समयमा अनावश्यक रूपमा किनारमा नजान, आधिकारिक सूचना मात्र पछाडि पर्न र आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन नागरिकलाई अनुरोध गरिएको छ।
विपद् परेका बेला तत्काल उद्धारका लागि जनशक्ति तथा सामग्री तयारी अवस्थामा राख्ने, सञ्चार प्रणाली चुस्त बनाउने र आवश्यकता अनुसार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने रणनीति तय गरिएको छ। ढडुवा युवा क्लब परिवारका सचिव अभिषेक खतिवडाका अनुसार सुरक्षा निकायदेखि स्वयंसेवकसम्मलाई समन्वयात्मक रूपमा परिचालन गर्ने गरी पूर्वतयारी गरिएको छ।
बैठकमा वडा सदस्यहरू कर्णबहादुर भण्डारी, अजित कुमार विष्ट, विष्णुमाया तिम्सिना, जलथल प्रहरी चौकीका प्रमुख राजेन्द्र कार्की, ढडुवा युवा क्लबका अध्यक्ष कुलबहादुर न्यौपाने, सामाजिक अभियन्ता अभिषेक खतिवडा, सहकारीकर्मी बन्डा मेचे, रेडक्रसकर्मी रेम खरेल, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता थियो।
‘पूर्वतयारी नै क्षति न्यूनीकरणको पहिलो आधार हो,’ वडा अध्यक्ष ओलीले भने, ‘सम्भावित विपद्को सामना गर्न वडा तहबाटै जोखिम क्षेत्र पहिचान, पूर्वतयारी, उद्धार र राहत व्यवस्थापनको संयन्त्रलाई सक्रिय बनाइएको छ।’ वडा कार्यालयले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउँदै पूर्वतयारीमा जुट्न सम्पूर्ण वडावासी र सम्बद्ध निकायलाई अपिल गरेको छ।
