हल्दिबारी । झापाका विभिन्न मेला, महोत्सव, सपिङ सेन्टर तथा व्यावसायिक प्रतिष्ठानहरूमा खटिने निजी सुरक्षा गार्ड तथा बाउन्सरहरूका लागि जिल्ला प्रशासन कार्यालय झापाले कडा आचारसंहिता जारी गरेको छ। चाडपर्वका बेला सार्वजनिक स्थलमा खटिएका बाउन्सर तथा सुरक्षाकर्मीबाट सर्वसाधारणमाथि हातपात, दुर्व्यवहार र झै-झगडा हुन नदिन प्रशासनले ५ बुँदे विशेष निर्देशन जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलद्वारा जारी सूचनामा सुरक्षा गार्ड र बाउन्सरहरूले तोकिएको जिम्मेवारी निर्वाह गर्दा सर्वसाधारणसँग सौम्य, शान्त र मर्यादित व्यवहार प्रदर्शन गर्नुपर्ने उल्लेख छ। आचारसंहिता विपरीत कुनै पनि बाउन्सर वा सुरक्षाकर्मीबाट सर्वसाधारणमाथि कुटपिट वा अभद्र व्यवहार भएमा संलग्न व्यक्तिसँगै परिचालन गर्ने निजी सुरक्षा कम्पनीका सञ्चालक र मेला/महोत्सव आयोजकलाई समेत कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
प्रशासनका मुख्य निर्देशनहरू:
- हातपात र बल प्रयोगमा रोक: मेला, पर्व, सपिङ सेन्टर र अस्पतालजस्ता स्थानमा खटिने सुरक्षाकर्मी वा बाउन्सरले भीड नियन्त्रणका नाममा सर्वसाधारणमाथि हातपात गर्ने, धम्क्याउने वा बल प्रयोग गर्न पाउने छैनन्।
- तत्काल प्रहरीलाई खबर गर्नुपर्ने: कार्यस्थलमा अवाञ्छित गतिविधि वा विवाद भएमा बाउन्सर आफैँ झगडामा सामेल नभई नजिकको प्रहरीलाई खबर गरी जिम्मा लगाउनुपर्नेछ।
- चारित्रिक शुद्धता र अभिमुखीकरण: सुरक्षा कम्पनीहरूले आपराधिक पृष्ठभूमि नभएका र तालिमप्राप्त व्यक्तिहरूलाई मात्र खटाउनुपर्नेछ। परिचालनअघि नागरिकसँग शिष्ट व्यवहार गर्न अनिवार्य पूर्व-अभिमुखीकरण गराउनुपर्नेछ।
- पोशाक र परिचयपत्र अनिवार्य: खटिने प्रत्येक सुरक्षागार्ड तथा बाउन्सरले तोकिएको पोशाक र कम्पनीको आधिकारिक परिचयपत्र स्पष्ट देखिने गरी लगाउनुपर्नेछ।
- प्रशासनसँग पूर्वसमन्वय: ठूला कार्यक्रम वा मेलामा बाउन्सर परिचालन गर्नुअघि स्थानीय प्रहरी तथा प्रशासनसँग समन्वय गरी पूर्वजानकारी गराउनुपर्नेछ।
