समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

२५ लाखको बैंकिङ कसुर मुद्दामा बिर्तामोडका होटल व्यवसायी गिरी पक्राउ

बिर्तामोड । बैंकिङ कसुरसम्बन्धी मुद्दामा झापाको बिर्तामोडका होटल व्यवसायी तथा पूर्वजनप्रतिनिधि गोपीचन्द्र गिरी पक्राउ परेका छन्।

​भुवन कार्कीको जाहेरीका आधारमा २५ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरसम्बन्धी चालु मुद्दाका प्रतिवादी ७२ वर्षीय गिरीलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आइतबार साँझ बिर्तामोड नगरपालिका–५ स्थित उनको निवासबाटै पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार पक्राउ परेका गिरीलाई आवश्यक कानुनी प्रक्रियाका लागि हिरासतमा राखिएको थियो।

​तर, प्रहरी हिरासतमा रहेकै अवस्थामा राति छातीमा अचानक समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। सोमबार बिहान करिब साढे १२ बजे स्वास्थ्यमा जटिलता भएपछि गिरीलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। हाल उनको सोही अस्पतालको शय्यामा भर्ना गरी उपचार भइरहेको छ।

​होटल व्यवसायमा आबद्ध र बिर्तामोड नगरपालिकाका पूर्वजनप्रतिनिधिसमेत रहेका गिरी स्थानीय व्यावसायिक तथा सामाजिक वृत्तमा परिचित व्यक्तित्व हुन्। बैंकिङ कसुरको यो मुद्दामा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढिरहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)