झापा । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवातको प्रभावले देशभर मौसम बदली भई भारी वर्षाको सम्भावना बढेसँगै झापा जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। सुरक्षा निकाय र जिल्ला रेडक्रस सोसाइटीका प्रतिनिधिको संयुक्त बैठकले सम्भावित धनजनको क्षति रोक्न विभिन्न पूर्वतयारीका निर्णयहरू सार्वजनिक गरेको छ।
जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार आगामी कार्तिक १२ गते (बिहीबार) देखि १४ गते (शनिबार) सम्म कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको असर बढी पर्ने देखिएको छ। यी क्षेत्रका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको समेत जोखिम रहेको छ।
प्रशासनद्वारा जारी गरिएका प्रमुख ७ बुँदे सतर्कताका मापदण्डहरू:
१. धानबाली सुरक्षा: पाकेको धानबाली तत्काल नकाट्ने वा काटिसकेको भए सुरक्षित स्थानमा भण्डारण गर्ने।
२. यातायातमा सावधानी: सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्ने र भारी वर्षाको समयमा जोखिमपूर्ण स्थानमा सवारी नचलाउने।
३. स्थानान्तरणमा सहयोग: जोखिमग्रस्त घरपरिवारहरूलाई सुरक्षित स्थानमा सार्न स्थानीय तहले आवश्यक सहजीकरण र सहयोग गर्ने।
४. आधिकारिक सूचनालाई मात्र मान्यता: मौसम वा विपद्बारे अफवाहबाट बच्न आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान र पूर्वसूचनालाई मात्र विश्वास गर्ने।
५. नदी तथा खोला किनारमा प्रतिबन्ध: नदी, खोला किनार र डुबान क्षेत्रमा विशेष सावधानी अपनाउने। जोखिमको सङ्केत देखिएमा खोलामा माछा मार्ने वा दाउरा सङ्कलन गर्नेजस्ता कार्य नगर्ने।
६. पूर्वतयारीमा जोड: जिल्लास्थित सबै स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवालाहरूलाई उच्च पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
७. सुरक्षित स्थानको खोजी: अकस्मात् बाढी आउन सक्ने खहरे खोलाहरू तरेर यात्रा नगर्न तथा पहिरो वा डुबान जोखिम बस्तीका बासिन्दाले सुरक्षित र अग्लो स्थान पहիलाी पूर्वतयारी गरी आवश्यकता परे तुरुन्त सर्ने।
आपत्कालीन सहयोग तथा सम्पर्क नम्बरहरू:
विपद्को समयमा तत्काल सहयोग तथा सूचना लिनका लागि प्रशासनले निम्न हटलाइन नम्बरहरू सार्वजनिक गरेको छ:
- वर्षा र बाढी सम्बन्धी जानकारी: ११५५
- जिल्ला प्रशासन कार्यालय, झापा: ९८५२६१७७७७ (सूचना अधिकारी: ९८५२६७८९९९)
- अरिदमन गण चारआली ब्यारेक, झापा (ड्युटी अधिकृत): ९८६२६९४७४८
- जिल्ला प्रहरी कार्यालय, झापा / सूचना अधिकारी: १००
- सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा, झापा: १११४ वा ९८५१२७२१२५
- जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र: १२३४ वा ९८५२६५४१२३
प्रशासनले मौसम विभाग र प्राधिकरणबाट जारी हुने सूचना नियमित रूपरेखामा पछ्याइरहन र संयमित रहन आम झापाली नागरिकहरूप्रति अपिल गरेको छ।
