समाचार
हल्दिबारी संवाददाता १९ मिनेट अगाडि

तिहार लक्षित ‘रैथाने मेला’ थापाथलीमा सुरु, ७७ वटै जिल्लामा विस्तार गरिने

काठमाडौं । नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौंको थापाथलीमा तीनदिने ‘तिहार विशेष रैथाने मेला’ सुरु भएको छ।

​सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक कार्यालय परिसरमा शनिबारदेखि मेला सुरु भएको हो। स्वदेशी उत्पादनलाई बजारीकरण गर्ने, स्थानीय उद्यमीलाई प्रोत्साहन दिने र परम्परागत खाद्य संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहजीकरणमा मेला आयोजना गरिएको हो।

​मेलामा कृषक, कृषक समूह, कृषि सहकारी, महिला तथा युवा उद्यमीका साथै स्थानीय उत्पादकहरूले आफ्ना उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि स्टल राखेका छन्।

​तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा परम्परागत खाद्य सामग्री, तिहार विशेष परिकार, प्राकृतिक फूल तथा माला, सजावटका सामान, परम्परागत पोसाक, हस्तकला, माटाका भाँडाकुँडा, रैथाने बाली तथा कृषि उपजलाई प्राथमिकताका साथ बिक्री-प्रदर्शनीमा राखिएको छ।

​स्थानीय उत्पादनको पहिचान र बजारीकरणमार्फत साना उद्यमी तथा कृषकको आर्थिक गतिविधि विस्तार गर्ने र स्वदेशी वस्तुको उपभोग बढाउने सरकारको नीति रहेको आयोजकले जनाएको छ।

​सरकारले आगामी दिनमा पनि सार्वजनिक बिदाका समय (सप्ताहान्त) मा साताको दुई दिन यस्ता मेला निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ। यही अभ्यास र मोडेललाई देशका ७७ वटै जिल्लामा विस्तार गर्दै लैजाने लक्ष्य समेत सरकारले लिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)