झापा । जिल्लाका विभिन्न सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिन सञ्चालनमा नआउँदा सेवाग्राही मर्कामा परेका छन्। एटीएम नचल्दा सर्वसाधारणलाई रकम झिक्न सास्ती भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले एटीएम सेवा तत्काल सुचारु गर्न बैंकहरूलाई निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले दिएको जानकारी अनुसार २४ सै घण्टा सञ्चालन हुनुपर्ने एटीएमलगायतका सेवा नियमित राख्न सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ। केही बैंकका प्रमुखहरूसँग टेलिफोनमा कुराकानी गरी तत्काल आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
यस विषयमा नेपाल राष्ट्र बैंकका गुनासो व्यवस्थापन हेर्ने निर्देशक सुशील पौडेललाई समेत टेलिफोनमार्फत जानकारी गराइएको छ।
प्रशासनले एटीएम कक्ष तथा परिसरमा राखिएका सीसीटीभी लगायतका सुरक्षा उपकरणहरू चुस्त-दुरुस्त राख्न र सुरक्षा गार्डहरूलाई नजिकको सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सतर्कता अपनाउन बैंकहरूलाई भनेको छ। सहज, सुरक्षित र नियमित रूपमा बैंकिङ सेवा पाउनु सेवाग्राहीको अधिकार भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिन सम्बद्ध सबैलाई ध्यानाकर्षण गराइएको छ।
