समाचार
हल्दिबारी संवाददाता २७ मिनेट अगाडि

लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना र भागवत अनुष्ठान सफल पार्न अन्तरक्रिया

झापा । चेतना नेपालको आयोजनामा लागूऔषध दुर्व्यसनविरुद्ध साक्षरता कार्यक्रम तथा राधिका फाउण्डेसनद्वारा सञ्चालन हुन गइरहेको भागवत अनुष्ठानलाई सफल बनाउने उद्देश्यले सहकार्य, समन्वय र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

​चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भागवतमञ्जरी राधिका दासीजीको विशेष आतिथ्यता रहेको थियो भने भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको आतिथ्यता रहेको थियो ।

​कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिकाकी उपप्रमुख कार्कीले चेतना नेपालको अभियान घर–घरमा पुग्नुपर्नेमा जोड दिइन् । उनले राधिका फाउण्डेसनद्वारा सञ्चालन हुन गइरहेको सप्ताह भागवत पुराणमा सबै क्षेत्रबाट सक्रिय सहभागिता जनाउन आग्रहसमेत गरिन् ।

​त्यस्तै, विशेष अतिथि भागवतमञ्जरी राधिका दासीजीले चेतना नेपालले गरेका सामाजिक गतिविधिहरूको चर्चा आफू विदेश भ्रमणमा रहँदा समेत सुन्ने गरेको स्मरण गरिन् । संस्थाको कार्यालयमै आएर प्रत्यक्ष रूपमा गतिविधि बुझ्न पाएकोमा खुसी व्यक्त गर्दै उनले फाउण्डेसनद्वारा आयोजित धार्मिक तथा सांस्कृतिक उत्सव ‘सप्ताह भागवत पुराण’ को चुलो निम्तोसमेत दिइन् । अनुष्ठानमा ४८ जिल्लाभन्दा बढीका भक्तजनहरू सहभागी हुने जानकारी दिँदै उनले झापा जिल्ला नै यसको मुख्य आयोजक भएकाले सबैको साथ र सहयोगको अपेक्षा गरिन् ।

​कार्यक्रमका अध्यक्ष एवं चेतना नेपालका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद ओलीले दुर्व्यसन न्यूनीकरणमा आध्यात्मिक चिन्तन पहिलो अस्त्र रहेको बताए । आचरण, नैतिकता एवं विचारको शुद्धीकरणका लागि धार्मिक ज्ञान प्रवचनको विशेष महत्व रहने उल्लेख गर्दै उनले राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल र चेतना नेपालका सम्पूर्ण पदाधिकारीलाई घर–घरमा निमन्त्रणा पुर्‍याएर अनुष्ठान सफल बनाउन आग्रह गरे । सो अवसरमा अन्य वक्ताहरूले लागूऔषध दुर्व्यसनले समाज, परिवार र विशेषगरी महिला तथा बालबालिकामाथि पार्ने नकारात्मक असरबारे चर्चा गर्दै यसको रोकथामका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

​कार्यक्रममा चेतना नेपालका चेतना दूत टहलदास ओली, कोषाध्यक्ष देवीभक्त आचार्य, राधिका फाउण्डेसनका सदस्य मुक्ति तिमल्सिना, चेतना नेपालका सल्लाहकार सदस्यहरू बद्रीप्रसाद उप्रेती, श्रीप्रसाद सिवाकोटी, भीम उप्रेती, चेतना नेपाल बिर्तामोडका अध्यक्ष अनुप निरौला, उपाध्यक्ष राममाया उप्रेती, चेतना सांस्कृतिक समाजकी संयोजक कमला चुडाल मैनाली, चेतना साहित्य समाजकी सदस्य उमा तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।

​कार्यक्रमको सुरुमा कमला चुडाल मैनालीले स्वागत भजन प्रस्तुत गरेकी थिइन् भने उमा तिमल्सिनाले कविता वाचन गरेकी थिइन् । कार्यक्रममा चेतना दूत टहलदास ओलीले भागवतमञ्जरी राधिका दासीजीलाई मायाको चिनो प्रदान गरेका थिए ।

​चेतना नेपालकी कार्यकारी प्रमुख कल्पना भट्टराईले सञ्चालन गरेको उक्त अन्तरक्रियाले आगामी अनुष्ठानलाई भव्य र सभ्य रूपमा सफल पार्न तथा लागूऔषध दुर्व्यसनविरुद्धको अभियानलाई घर–घरमा पुर्‍याउन सबै संघ–संस्थाबीच सहकार्य र समन्वय गर्ने निष्कर्ष निकालेको संस्थाका जनसम्पर्क अधिकारी प्रेमकुमार सेढाईले जानकारी दिए ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)