काठमाडौँ । राजधानी काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले ठुलो परिमाणमा नेपाली रुपैयाँ तथा विदेशी मुद्रासहित एक विदेशी नागरिक र एक नेपाली युवती गरी दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा माल्दिभ्सका नागरिक युटिथ इब्राहिम र चितवनकी २० वर्षीया स्नेहा रिमाल रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार, विशेष सूचनाका आधारमा ठमेलस्थित स्नोलाइन होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट ५० लाख ५० हजार नेपाली रुपैयाँ, ४ हजार २१५ ओमानी रियाल र ५५ संयुक्त अरब इमिरेट्स (युएई) दिराम बरामद गरेको छ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। बरामद गरिएको उक्त रकम तथा विदेशी मुद्राको स्रोत र उनीहरूको संलग्नताबारे विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ।
