समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

कोक्रोज कविता आन्दोलन : ‘ह्यासट्यागको आगोमा जलिरहेको गणतन्त्र’

  • देवेन्द्र किशोर ढुँगाना

चोर जब भोकै हुन्छ
उसले चोर्छ—
एउटा रोटी,
एउटा पुरानो मोबाइल,
कहिलेकाहीँ
सडकछेउको पसलबाट
दुई मुठी चामल ।
उसलाई समातिन्छ।
भीड कराउँछ—
“देश बिगार्ने यही चोर हो!”
तर
जब चोर
महलमा बस्छ,
टाइ बाँध्छ,
राष्ट्रगान गाउछ,
र क्यामेराअघि
देशभक्ति झार्छ—
त्यो मन्त्री हुन्छ,
नेता हुन्छ,
ठेकेदार हुन्छ,
नीतिको
भाषण दिन्छ।
उसले चोर्छ—
नदी,
पहाड,
बजेट,
युवाको भविष्य,
आमाको औषधि,
बुबाको पसिना,
विद्यार्थीको सपना।
तर ऊ पक्राउ पर्दैन।
किनकि
उसको चोरीलाई
“विकास” भनिन्छ।
सडकमा उभिएको
एउटा जेन जी केटो
रिल बनाउँदै कराइरहेको छ—
“यो देश हाम्रै हो!”
उसको आवाजमा
र्‍यापको रिस छ,
टिकटकको
गति छ,
र बेरोजगार आँखामा
आँधी बोकेको छ ।
उसले
किताबभन्दा बढी
भ्रष्टाचार
देखेको छ।
उसले संविधानभन्दा बढी
कन्स्ट्रक्सनको धुलो पढेको छ।
उसले देखेको छ—
स्कुलको छानो चुहिन्छ,
तर नेताको बंगला
मार्बलले चम्किन्छ।
अस्पतालमा सलाइन छैन,
तर चुनावमा
हेलिकप्टर उड्छ।
उसले बुझेको छ—
देशको नक्सा किताबमा मात्र सुरक्षित छ,
वास्तविकतामा
देश त ठेक्कामा बेचिइसकेको छ।
पत्रकारिता पनि
अब सत्यको
पेशा होइन,
स्पोन्सरको
स्क्रिप्ट हो।
एउटा पत्रकार
क्यामेरा अगाडि कराउँछ—
“देश विकासको नयाँ युगलाई टेकेर !”
तर
त्यसको पछाडि
एउटी आमा
छोराको शव कुरेर बसेकी हुन्छे
वैदेशिक रोजगारको बाकसभित्र।
एउटा चाटुकार एंकर
डिबेटमा चिच्याइरहेको हुन्छ
“राष्ट्र खतरामा छ!”
तर राष्ट्र त
पहिले नै
बेचिएको हुन्छ
कमिसनको हस्ताक्षरमा।
हामी—
उपेक्षितहरू,
दलितहरू,
सुकुम्बासीहरू,
फ्याक्ट्रीको धुवाँभित्र हराएका मजदुरहरू,
फेसबुकमा
क्रान्ति लेखेर
भोलिपल्ट पेट्रोलको लाइन बस्ने युवाहरू—
हामीले धेरै सह्यौं।
हामीलाई
जातले थिच्यो,
धर्मले
विभाजन गर्यो,
राजनीतिले
प्रयोग गर्‍यो,
र विकासले विस्थापित गर्यो ।
हाम्रो गाउँ डुब्यो—
हाइड्रोको नाममा।
हाम्रो जंगल काटियो—
स्मार्ट सिटीको नाममा।
हाम्रो इतिहास मेटियो—
विदेशी लगानीको नाममा।
तर
हामीलाई भनियो—
“चुप लाग,
देश बनिरहेको छ।”
अब
हाम्रो चुप्पी पनि विद्रोह हुनेछ।
हामी
माइमाइम गर्दै
भोक लुकाउने पुस्ता होइनौं।
हामी
मीमबाट आन्दोलन बनाउने,
ह्यासट्यागबाट सडक तताउने,
र स्टाटसबाट सत्ता हल्लाउने पुस्ता हौं।
हामीलाई
पुराना भाषण चाहिँदैन,
हामीलाई जवाफ चाहिन्छ।
किन युवाले देश छोड्नु पर्छ?
किन किसानले आत्महत्या गर्नुपर्छ?
किन एउटा नेताको गाडीमा
सय गाउँको
बजेट जल्छ?
उत्तर देऊ!
अब
यदि क्रान्ति
हुन्छ भने
त्यो जंगलबाट होइन,
वाइफाइबाट आउनेछ।
अब
यदि आगो
बल्छ भने
त्यो टायरमा मात्र होइन,
मानिसको
चेतनामा बल्नेछ।
र याद राख—
जब भोकले थिचिएको मान्छे
आफ्नो डर गुमाउँछ,
त्यसपछि
दरबारका पर्खालहरू धेरै दिन टिक्दैनन्।
हामी आउँदैछौं—
कसैको झोला बोक्न होइन,
आफ्नो भविष्य फिर्ता लिन।
हामी आउँदैछौं—
सत्ताको भोजमा
हड्डी टिप्न होइन,
तिम्रो क्रूर सत्ता उल्ट्याउन।
किनकि
अब हामीले बुझिसकेका छौं—
गरिब चोर
जेल जान्छ,
धनी चोर
शासन गर्छ।
तर
जब जनता जाग्छ
त्यसपछि
इतिहास बदलिन्छ।
भद्रपुर-८, झापा

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article