काठमाडौं, माघ २७ । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहम्मद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली तथा सम्भावित लगानी क्षेत्रका विषयमा छलफल भएको हो।
भेटवार्तामा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको पनि सहभागिता रहेको थियो।
सो अवसरमा कतारी प्रतिनिधिमण्डलले स्थिर नीति, स्पष्ट कानुनी संरचना र सहज बैंकिङ प्रणाली भए कतारी लगानीकर्ता नेपालमा दीर्घकालीन लगानी गर्न इच्छुक रहेको धारणा व्यक्त गरे।
छलफलका क्रममा गभर्नर पौडेलले नेपालमा वैदेशिक लगानीका लागि उपलब्ध नीतिगत व्यवस्था र सुधारबारे जानकारी गराउँदै सरकारले वैदेशिक लगानीलाई प्राथमिकतामा राखी नीतिगत सुधार प्रक्रिया निरन्तर अघि बढाइरहेको बताए।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य अलोबैदेलीले कतारी निजी क्षेत्रको नेपालप्रति चासो बढ्दो रहेको उल्लेख गर्दै बैंकिङ, पर्यटन, सूचना प्रविधि तथा जनशक्ति विकासलगायत क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए। उनले स्पष्ट लगानी रोडम्याप प्रस्तुत गर्न सकिए कतारी लगानी नेपाल भित्र्याउन सकिने धारणा पनि राखे।
महासङ्घका अध्यक्ष ढकालले वैदेशिक लगानी सहजीकरणका लागि महासङ्घले सक्रिय भूमिका खेलिरहेको बताउँदै कतारी लगानी नेपाल भित्र्याउने ठोस सम्भावना रहेको उल्लेख गरे। निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद तथा संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासङ्घ प्रतिबद्ध रहेको उनको भनाइ थियो।








