हल्दीबारी, साउन ४ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सभाहरू प्रतिपक्षविहीन बन्न नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड दिएका हुन्।

शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिए। कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु नहुने कांग्रेसको स्पष्ट बटमलाइन रहेको र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लङ्घन गर्न नमिल्ने उनको भनाइ छ।

प्रदेश सरकारहरूको फेरबदल र नयाँ सरकार गठनको प्रक्रियामा प्रतिपक्षको परिकल्पना अपरिहार्य रहेको तर्क गर्दै उपसभापति शर्माले लोकतान्त्रिक प्रणालीलाई जोगाउन आवश्यक परे नेपाली कांग्रेस आफू प्रतिपक्षमा बस्न तयार रहेको तर सबै मुख्य दलहरू एउटै सरकारमा ओत लाग्ने प्रवृत्ति उपयुक्त नहुने स्पष्ट पारे।
उनले प्रदेशमा देखिएका वर्तमान समस्याहरूलाई राजनीतिक संवादमार्फत हल गरिने बताउँदै नेपाली कांग्रेसले मात्र चाहेर सबै कुरा नहुने उल्लेख गरे। अन्य राजनीतिक दलहरूको आत्मसम्मान र सहअस्तित्वलाई स्वीकार गर्दै साझा सहमतिको आधारमा प्रदेश सरकारबारे अन्तिम टुङ्गोमा पुगिने उनले बताए।
