हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

जापानमा लक्ष्मी राजवंशी हत्या प्रकरण: सन्जु तामाङमाथि मुद्दा दायर, अन्य दुई रिहा

झापा । जापानको फुकुओका सहरमा भएको २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको हत्या प्रकरणमा फुकुओका जिल्ला सरकारी वकिलको कार्यालयले २८ वर्षीया नेपाली युवती सन्जु तामाङ विरुद्ध औपचारिक रूपमा हत्या अभियोग दायर गरेको छ। मंगलबार (सेप्टेम्बर २९) मा तामाङमाथि मुद्दा चलाउने निर्णय गरिएको हो। अभियुक्त सन्जु फुकुओकाको हाकाता क्षेत्रमा बस्दै आएकी व्यावसायिक कलेजकी विद्यार्थी हुन्।

Advertisement

अभियोगपत्र र अनुसन्धान विवरण अनुसार, गत अगस्ट १८ राति करिब ११:५५ देखि अगस्ट १९ बिहान ०:१५ बजेको समयमा चुओ-कु क्षेत्रस्थित लक्ष्मीको डेरामा पुगेर सांघातिक आक्रमण गरिएको थियो। टाउकोमा धातुको भाँडोले पटक-पटक प्रहार गरेपछि घाँटीमा डोरीले कसेर तेस्रो तलाको बाल्कोनीबाट नाकागावा नदीमा खसालेको र डुबेर उनको मृत्यु भएको अभियोगमा उल्लेख छ।

Advertisement

​अगस्ट १९ को बिहान तेन्जिन क्षेत्र नजिकै नदीमा लक्ष्मीको शव तैरिरहेको अवस्थामा भेटिएको थियो। उनको कोठामा रगतका दाग, कुटपिट तथा प्रतिरक्षा गर्ने क्रममा लागेका चोटहरू फेला परेका थिए। झापा घर भएकी लक्ष्मी करिब तीन वर्षअघि अध्ययनका लागि जापान पुगेकी थिइन्।

फुकुओका प्रहरीले सेप्टेम्बर ८ मा घटनामा संलग्न रहेको आशंकामा सन्जु तामाङसहित २५ वर्षीया अस्मिता तामाङ र २२ वर्षीय प्रविण रानालाई पक्राउ गरेको थियो। तर, प्रत्यक्ष हिंसात्मक कार्यमा सन्जुको मात्र संलग्नता देखिएको भन्दै अन्य दुई जनाको हकमा अभियोजन निर्णय स्थगित गरी रिहा गरिएको छ। यद्यपि, उनीहरूमाथिको अनुसन्धान पूर्ण रूपमा बन्द भएको छैन र उनीहरूलाई जापान छोड्न अनुमति दिइएको छैन।

अनुसन्धानका क्रममा अभियुक्त सन्जुले आफूले हत्या नगरेको भन्दै आरोप अस्वीकार गर्दै आएकी छिन्। प्रहरीको प्रारम्भिक अनुमान अनुसार घटनाको पृष्ठभूमिमा एकै पुरुषसँगको प्रेम सम्बन्धलाई लिएर उत्पन्न विवाद हुनसक्ने मानिएको छ।

लक्ष्मीको शव सेप्टेम्बर ११ मा नेपाल ल्याएर गृह जिल्ला झापामा राजवंशी परम्परा अनुसार दाहसंस्कार गरिसकिएको छ। यस घटनाले जापानमा रहेका नेपाली समुदाय र विद्यार्थीहरूमा गहिरो शोक र सुरक्षा चिन्ता बढाएको छ। अभियोग दायर भएसँगै यो मुद्दा अब जापानी न्यायिक प्रक्रियामा प्रवेश गरेको छ र अदालतको फैसला आउन बाँकी छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)