शास्त्र हराए संस्कार हराउँछ ,संस्कार हराए संस्कृती हराउँछ , संस्कृती हराए पहिचान हराउँछ पहिचान हराए राष्ट्र हराउँछ । राष्ट्र हराए हामी हराउँछौ ।

राष्ट्र भन्ना साथ एउटा भुगोल मात्र बुझिदैँन , त्यो भुगोल भित्र बस्ने जात जाती, भाषा ,भेष भुषा संस्कार संस्कृती आदि अभ्यासको समष्टिगत नै राष्ट्र वा राज्य हो ।
हरेक राज्य वा राष्ट्रको आ आफ्नो विशेषता: पहिचान मौलिकता हुन्छ । त्यस्तै नेपालजा मौलिक पर्वहरुको पनि आ आफ्नो एक विशेषता रहेको छ ।
नेपाल एक हिमवतखण्ड को योग , ध्यान साधाना भुमी हो । संसारका भुमी राष्ट्रहरु भोग भुमी हुन नेपाल एक मात्र देश हो योग भुमी, देव भुमी ,शिव भुमी , हजारौ हजार सन्त महात्मा ऋषि महर्षी हरुले योग ध्यान साधना ले देव तुल्य सिञ्चित भुमी हो । संसारमा मन्दिरै मन्दिरको देश र अनेकौ संस्कार संस्कृती पद्धती एवं विविधतामा एकता एकतामा विविधता रहेको देश भनेर चिनिने नेपाल नै हो। त्यसैले त यहाँ को माटो लाई चन्दन र ढुङ्गा शालिग्रम भनी पुजिन्छ ।
सनातन हिन्दुधर्मसँग सयौं पर्व र संस्कृतिहरु समेत जोडिएर आउँछन् । सबैको आआफ्नै महत्व र विशेषता पाइन्छ । यहाँ मनाइने पर्व मध्ये एक महान चाड वा वडा दशैं हो । नेपालको सबैभन्दा ठूलो चार्ड लामो विदा दिइने १५ दिन सम्म मनाइने पुजा आरधना गरिने पर्व दशै हो ।
दशैं आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाईन्छ । यी १५ दिन सबैको फरक फरक विशेषताहरु छन् । विशेषगरि दशैंसँग हाम्रो मौलिकपक्ष, धार्मिक पक्ष र साँस्कृतिक पक्ष र वैज्ञानिक पक्ष जोडिएर आउँछन् ।
दशैंको विशेष महत्व : महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्ड–मुण्ड तथा शुम्भ–निशुम्भलाई बध गरेको खुसियालीमा दशैं मनाउने गरिएको मान्यता रहेको पाइन्छ ।
दशैंमा जमराको महत्व:
जमरा सनातन हिन्दू धर्मावलम्बीहरुको लागि पवित्र मानिन्छ । विशेषगरी वडा दशैंमा जमराको विशेष महत्व छ । घटस्थापनाका दिन जमरा देवी दुर्गाको नाममा राखिन्छ । नवरात्र भरि पूजा गरेर दशमीको दिन टीकासँगै पहेँला जमरा कानमा वा शिरमा राखेर आशीर्वाद दिने लिने चलन छ । जमरा मकै, गहुँ तथा जौ का दाना उमारेर तयार गरिन्छ । घाम नलाग्ने ठाउँमा उमारिने भएकोले जमरा पहेँला हुन्छन् । हिजोआज जमरा दशैंसँग मात्र जोडिएर आएको छैन । जमराको व्यवसायीक खेती गरि यसको जुस सेवनले धेरै रोगहरु पनि निधानको लागि समेत प्रयोग हुँदै आएको छ । बिस्तारै मानिसहरु जमरातिर आकर्षित भएको देखिन्छ केवल दशैंमा आशीर्वाद लिनमा मात्र सिमित छैन औषधिय रुपमा समेत प्रयोग हुने गरेको छ । जमराको जुश नियमित सेवन गर्नाले विभिन्न रोग निको हुने विश्वास समेत गरेको पाइएको पाइन्छ ।
साँस्कृतिक पक्ष:
दशैं वा बडा दशैं (दशहरा, विजयादशमी, नवरात्र) पूजा नेपालीहरूको प्रमुख चार्ड मानिन्छ । राष्ट्रिय चार्ड समेत मानिने दशैं आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी मनाइन्छ । दशौं दिन विहान आफूभन्दा ठूला मान्यजनहरुको हातबाट टीका (प्रसाद ग्रहण गरेर विशेष रुपमा पूर्णिमासम्म, प्रसाद ग्रहणका लागि) मनाउने गरिन्छ । घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र त्रिशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ ।
सनातन हिन्दु संस्कृती वीरताको पूजक अनि सौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस भन्ने ध्येयले दशैंको उत्सव (पर्व) सुरु भएको हो । दशैंले दश प्रकारका पापहरू (काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिने विश्वास गरिन्छ ।
दशैं र वनस्पति:
धार्मिक, साँस्कृतिक तथा सामाजिक रूपले दशैंको जति महत्व छ , त्यत्तिकै प्राकृतिक पक्ष पनि प्रबल छ । यस चार्डले मानिसलाई प्रकृतिको नजिक रहेर पूजा आराधना गरी संरक्षण गर्न समेत प्रेरित गर्छ । नेपालका विभिन्न हावापानीमा पाइने वनस्पतिहरूले खाद्धपदार्थको साथैं औषधोपचारमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् । प्राचीन आयुर्वेदिक पद्धतिमा मात्र नभई आधुनिक चिकित्सामा पनि यिनको व्यापक प्रयोग गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदामा प्रत्येक दशैं घरमा घटस्थापना गर्ने र वेदी बनाई जौ छर्ने परम्परा छ । नवरात्रभरी मातृशक्तिको आव्हान, आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवतालाई अर्पण गर्ने र प्रसादस्वरूप लगाउने गरिन्छ । जौलाई रोगलाई दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रुपमा लिइएको छ । आयुर्वेदमा जौको अंकुरबाट गर्न सकिने उपचारहरूको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्सा अनुसार पनि विविध रोगको उपचारका लागि जौ र जौका अङ्कुर उपयुक्त रहेको पत्ता लागिसकेको छ ।
नवरात्रको सातौं दिन प्रत्येक दशैं घर वा शक्तिपीठमा फूलपाती भित्र्याउने संस्कृति छ । फूलपातीमा नौ प्रकारका विरुवाका पत्र वा पालुवा हुने हुनाले नवपत्रिका भनिन्छ । नवपत्रिका भन्नाले केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोका र जयन्तीलाई बुझिन्छ ।
नेपाली समाजमा सगुन वा माङ्गलिक वस्तुको रूपमा केराको प्रयोग गरिन्छ । श्राद्धको लागि पनि यो फल नभई हुँदैन । ठूला मांगलिक कार्यमा यज्ञमण्डपमा केराको बोट राख्नै पर्ने मानिन्छ । यसैगरी दशंैको दही चिउरामा पनि ठाउँ अनुसारका केराको प्रयोगले अझ स्वाद थपिन्छ । औषधिको रूपमा केराको महत्व ठूलो छ । काँचो वा पाकेको फल, जरा वा काण्डको रस विभिन्न उपचारको लागि प्रयोग गर्न सकिन्छ ।
यसैगरी फूलपातीमा प्रयोग हुने अर्को वनस्पति धानको बोटलाई लक्ष्मीको प्रतीक मानिन्छ । नेपाली समाजमा धानको महत्व ठूलो छ । मानिसको प्राण धान्नको लागि धानबाटै निर्मित चामलको प्रयोग भातको रूपमा गरिन्छ । खाद्यवस्तुको रूपमा मात्र नभई देवकार्य, पितृकार्य एवं यज्ञयज्ञादि धानद्वारा निर्मित चामलकै प्रयोग गरिन्छ । देवताहरूको पूजा गर्ने र विजयादशमीको रातो टीका समेत धानबाट बनेको अक्षताबाट लगाइन्छ ।
यस्तै बेसार विनाको खाद्यपदार्थ रङ्गहीन एवं स्वादविहीन हुने भएपनि यसको प्रयोग औषधोपचारमा समेत गरिन्छ । आँखा दुख्ने, छालाका रोग लगायतका घाउ चोटपटकमा यसको गानोको रसको प्रयोग गरिन्छ । गाउँघरमा रूघाखोकी लाग्दा बेसारपानी पकाएर औषधीको रूपमा प्रयोग गरिन्छ । पहाडदेखि तराईसम्म पाइने सधैं हरियो रहिरहने रूख हो, अशोका । अशोकाको प्रयोग औषधिको रूपमा बोक्रा फूल आदिलाई लिइन्छ । स्त्रीको गर्भाशयको रोग, रक्तविकार आदिमा बोक्राको पाक बनाएर पिउनाले वा फूलको चूर्ण पानीसंँग पिउनाले फाइदा पुग्दछ । शरीरका विभिन्न भागमा वेदना भएमा वा पोलेमा फूल वा बोक्राको लेप लगाउँदा आराम हुन्छ ।
वर्षायाममा उम्रिने मसिनो लहरायुक्त जयन्तीको विरूवा अन्य विरूवालाई आधार बनाएर फैलने गर्दछन् । मसिना पात हुने लहरामा साना साना गाढा राता फूलहरू प्रशस्तै फूल्ने गर्दछन् । कालो स–साना वियाँ हुने यसको फलबाट उत्तेजना ल्याउने औषधी बनाइन्छ । यसैगरी जयन्तीको प्रयोगले गलगाँड एवं श्वासप्रश्वास सम्बन्धी रोगको लागि समेत फाइदा पुग्दछ ।
भगवान् शिवको प्रियवस्तुको रूपमा बेललाई लिइन्छ । यसको महत्व आयुर्वेदिक एवं पर्यावरणीय दृष्टिले पनि उत्तिकै छ । नेवारी संस्कृतिमा कन्याहरूको विवाह बेलसँग गराइदिने परम्परा छ । तराई र पहाडी भागमा पाइने यसको रूखले वातावरणलाई स्वच्छ बनाउनुको साथै फल र पातले औषधिको रूपमा महत्व बोकेका छन् । विभिन्न रोगको साथै वीर्यबर्धक औषधिको कार्य बेलले गर्दछ । बेलको फलको गुदी वा चूर्णलाई औषधीको रूपमा प्रयोग गरिन्छ । बेलको फलबाट सर्वत बनाएर पिउनाले मस्तिष्कलाई ठण्डा बनाउनुको साथै शरीरमा स्फूर्ति ल्याउँछ । यिनै विविध गुण बोकेको बोटविरूवा दशैंमा शक्तिस्वरूपा भगवतीलाई अर्पण गर्ने गरिएको हो ।
दशैंका महत्वपूर्ण दिनहरु : घटस्थापना:
भागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावणमाथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवीदेवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन नमिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि दशैंको नवरात्र आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः काल मात्र यो व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ । यस दिन घट (कलश) को स्थापना गरी देवीदेवतालाई आव्हान गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।
महासप्तमी (फूलपाती)
नवरात्रको सातौं दिनलाई फूलपाती भनिन्छ । दशैंमा यो दिनको महत्व अधिक रहेको छ । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधिय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यस दिन राजधानीको टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोका र जयन्ती गरि नौ प्रकारका पातहरूलाई पूजा गरि प्रत्येकको नौ का दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रह्मायणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आव्हान गरेर सोह्र सामग्रीले पूजिन्छ । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।
वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधिय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् ।
महाष्टमी:
नवरात्रको आठौं दिनमा महाकाली (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ । देवीभागवत अनुसार प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएको विश्वासमा पूजा गर्ने चलन छ ।
महानवमी:
नवरात्रको नवौ दिन विशेष गरी सिद्धिदात्री देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । बलिको अर्थ:
बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । पसु प्राणिको वलि होइन । तर कुनै एक समयमा कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानि बलि प्रथा चलिआएको हो तर अहिले सबैले बुझ्दै बलि प्रथा हट्दै गएको छ शास्त्र ले मानव लाई मात्र होइन प्रकृति पशु प्राणी सबैमा सद्भाव राखेको छ बलि प्रथा हटाइनु पर्दछ। मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात त्यागौं भन्ने शास्त्रीय मान्यता दशैंको हो । तर मानिसले आफ्ना अवगुण नत्यागेर ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थालेपछि दशैंमा बलिको शुरुवात भएको हो । वलि प्रथा को अन्त्यको लागि निकै लामो समय देखि यो बुझाउदै आउदा क्रमश घट्दै सबैले बुझ्दै गएको पाइन्छ । सबैले शास्त्रले भन्न खोजेको र असली कुरा बुझ्न ढिला गर्नु हुदैन बलि प्रथा अन्त्य हुनु पर्छ र सबै मिलि अन्त्य गर्नु पर्छ ।
विजया दशमी :
नवरात्रको दशौं दिनलाई विजयादशमी भनिन्छ । कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका पाइन्छ । तर विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ । यस सम्बन्धमा श्रीमद्देवी भागवत नवरात्रमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ । यसदिन आफूभन्दा ठूलाका हातबाट टिका तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । नातासम्बन्ध स्थायी राख्न र आर्शिवाद लिन टिका लगाउने चलन ५ दिन सम्म रहदै आएको छ । कति पय स्थानमा एकैदिनमा दशैंको टिका सक्याउने गरिएको पनि पाइन्छ ।
टीका लाउँदा दिने आशिषः (पुरुषहरुका लागि)
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
महिलाहरुका लागि दशैंको आशिष:
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।
भनेर आशीर्वाद दिने गरिन्छ ।
कोजाग्रत पूर्णिमा:
दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि सुरु भएको दुर्गापक्ष अर्थात् दशैंपर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ ? भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ र दशैं विदा गरिन्छ । दशै नेपालमा मात्र सिमित छैन , नेपाली मुलवाशी भएका विश्वका हरेक कुनामा दशै मनाइन्छ । कति पय सनातन धर्मालम्बी हरुले टीका जमरा नलगाए पनि देवि दुर्गाको पाठ पुजा आरधना गरि धुमधाम मनाइन्छ ।
वडा दशै २०८३ को हार्दिक मंङ्गलमय शुभ कामना ।
इन्द्र प्रसाद ओली
केन्द्रीय अध्यक्ष
चेतना नेपाल एवं
राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल
मो ९८४४४८४२७९/९८०७९९२७६६