समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापाका शरद जोशीद्वारा मार्दी हिमालको सफल आरोहण

झापा (नेपाल) । फोटो पत्रकार तथा सामाजिक अभियन्ता शरद जोशीले ५,५८७ मिटर उचाइको मार्दी हिमाल सफलतापूर्वक आरोहण गर्नुभएको छ। नेपालको झापा जिल्लास्थित बिर्तामोड निवासी जोशीले गत कार्तिक १० गते मंगलबार दिउँसो ३:५० बजे सो शिखर चुचुरोमा सफलतापूर्वक आफ्नो पाइला टेक्नुभएको हो।

​आफ्नो तेस्रो हिमाल आरोहण सफलतापूर्वक पूरा गरेपछि खुसी साट्दै जोशीले आमा-बुबाको आशीर्वाद, परिवार, आफन्तजन र शुभेच्छुकहरूको अथाह विश्वास एवं मायाका कारण नै यो सफलता हासिल गर्न सम्भव भएको बताउनुभएको छ।

​यसपटकको हिमाल आरोहणलाई जोशीले भर्खरै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित बनेका नागरिकहरूको स्मरण र उच्च सम्मानका साथ उनीहरूप्रति समर्पित गर्नुभएको छ। सामाजिक सेवामा सधैँ अग्रपङ्क्तिमा रहँदै आएका उहाँले राष्ट्रिय तथा प्राकृतिक विपद्का बेला पीडितहरूको उद्धार र राहत कार्यमा समेत सक्रिय भूमिका निभाउँदै आउनुभएको छ।

​हिमालय आरोहणमा विशेष रुचि राख्ने जोशीको यो तेस्रो सफल हिमाल आरोहण हो। यसअघि उहाँले ६,००० मिटरभन्दा बढी उचाइको ‘मिरा पीक’ (Mera Peak) तथा ७,१२६ मिटर उचाइको ‘हिमलुङ हिमाल’ (Himlung Himal) सफलतापूर्वक आरोहण गरिसक्नुभएको छ। निरन्तरको हिमालयन एक्सपेडिसनमार्फत उहाँले साहसिक पर्वतारोहण क्षेत्रमा आफ्नो बलियो पहिचान बनाउनुभएको छ।

​पर्वतारोहणबाहेक जोशी सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा उत्तिकै सक्रिय हुनुहुन्छ। उहाँ पेसाले फोटो पत्रकार हुनुका साथै बिर्तामोडमा विद्यालय सञ्चालन गरी शिक्षा क्षेत्रमा समेत योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतासमेत हुनुहुन्छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)