झापा। सामाजिक उत्तरदायित्व र सामूहिक पहलकदमीको उदाहरण प्रस्तुत गर्दै हल्दिबारीका युवाहरूले सडक सुरक्षा तथा चोक सौन्दर्यीकरण अभियान सम्पन्न गरेका छन्।
हल्दिबारी गाउँपालिका–२ स्थित भजन चोकमा आयोजित अभियानअन्तर्गत जेब्रा क्रस निर्माण, ट्राफिक सचेतना तथा सार्वजनिक स्थल सौन्दर्यीकरणका कार्य शनिबार सम्पन्न भएका हुन्।
कोशी प्रदेश सभा सदस्य छविलाल चुडालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै सांसद चुडालले युवाहरूको अग्रसरतामा गाउँस्तरमा सञ्चालन हुने सकारात्मक अभियानले समाज परिवर्तनको आधार तयार गर्ने बताए। “सडक सुरक्षाका मापदण्ड पालना र सौन्दर्यीकरणले सुरक्षित आवागमनसँगै नयाँ सामाजिक संस्कारको विकास गर्छ,” उनले भने, “यस्ता अभियान हल्दिबारीका अन्य बजार क्षेत्रमा पनि विस्तार गरिनुपर्छ।”
अभियानअन्तर्गत भजन चोकको मुख्य स्तम्भमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको छ। यस्तै, पैदलयात्रीको सुरक्षित आवागमनका लागि जेब्रा क्रस निर्माण र सडक व्यवस्थापनका लागि डिभाइडरका रूपमा ट्राफिक कोनहरू राखिएका छन्।
गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले सडक सुरक्षा र ट्राफिक नियमको पालना प्रत्येक नागरिकको जिम्मेवारी भएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि तिनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले सवारीसाधन सञ्चालनका नियम र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराएका थिए। उनले स्थानीय तह, नागरिक र युवाको सहकार्यमा भएको यो अभियान अन्य पालिकाका लागिसमेत अनुकरणीय रहेको बताए।
अभियानका संयोजक असीम मैनालीको अध्यक्षता र सामाजिक अभियन्ता अभिषेक खतिवडाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मी, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा युवाहरूको उपस्थिति थियो।
स्थानीय आवश्यकता पहिचान गरी युवाहरू आफैँ अग्रसर हुँदा सार्वजनिक हितका काम सम्भव हुन्छन् भन्ने सन्देश यस अभियानले दिएको छ।
