समाचार
हल्दिबारी संवाददाता ४ घण्टा अगाडि

हल्दीबारी भेट्रान्स खेलकुद: झिलझिलेलाई हराउँदै हल्दीबारी ‘ए’ च्याम्पियन

हल्दीबारी, झापा । शुभ दीपावलीको अवसर पारेर हल्दीबारी भेट्रान्स खेलकुद आयोजक समितिको आयोजनामा हल्दीबारी माध्यमिक विद्यालयको प्राङ्गणमा जारी ‘हल्दीबारी भेट्रान्स खेलकुद २०८३’ को उपाधि हल्दीबारी ‘ए’ ले जितेको छ।

​सोमबार भएको रोमाञ्चक फाइनल खेलमा झिलझिले भेट्रान्सलाई ४-२ गोल अन्तरले पराजित गर्दै हल्दीबारी ‘ए’ ले विजेता ट्रफी उचालेको हो। प्रतियोगितामा पहिलो स्थान हासिल गरेसँगै विजेता हल्दीबारी ‘ए’ ले १५ हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको झिलझिले भेट्रान्सले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक समितिले जनाएको छ।

​प्रतियोगितामा हल्दीबारी ‘ए’, हल्दीबारी ‘बी’, टुर्केनी भेट्रान्स, ‘ढल्कियो जोवन’, चन्द्रगढी भेट्रान्स, झिलझिले भेट्रान्स, हिमली भेट्रान्स, कटरडाँगी भेट्रान्स, ज्ञानेचोक भेट्रान्स र ‘फर्कियो जोवन’ भेट्रान्स गरी कुल १० वटा टिमको उत्साहजनक सहभागिता रहेको थियो।

​दिपावलीको पावन अवसर पारेर आयोजित यस किसिमका खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास हुनुका साथै आपसी भाइचारा, सद्भाव र सम्बन्ध अझ प्रगाढ बनाउन महत्वपूर्ण सहयोग पुग्ने खेल आयोजक समितिका सदस्य एवं हल्दीबारी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सन्तकुमार थापाले जानकारी दिएका छन्।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)