समाचार
हल्दिबारी संवाददाता २९ मिनेट अगाडि

उदयपुरमा माइक्रोबस दुर्घटना : १० जना घाइते

झापा । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित बहेर्वा चोक नजिकै मदन भण्डारी लोकमार्गमा मंगलबार एक यात्रुवाहक माइक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

​बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अचानक अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। दुर्घटना हुँदा चालकसहित ११ जना सवार रहेकोमा १० जना गम्भीर तथा सामान्य घाइते भएका छन् भने एक बालिका भाग्यवश सकुशल रहेकी छन्।

​घाइते हुनेहरूमा चालक काठमाडौँ निवासी ४२ वर्षीय कृष्ण केसी, झापा सुरुङ्गाकी ४० वर्षीया रेणुका प्रसाई, उनका १४ वर्षीय छोरा नैन प्रसाई, मोरङ उर्लाबारीकी ५० वर्षीया निलकुमारी लम्साल, सुनसरी इटहरीकी ४३ वर्षीया मुना ढकाल, उदयपुर बेलकाका ३८ वर्षीय प्रबिन तामाङ, मोरङ सुन्दरहरैँचाका ७० वर्षीय अमृतबहादुर खड्का, इटहरीकी ३७ वर्षीया रञ्जिता गौतम, उदयपुर चौदण्डीगढीकी २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक रहेका छन्। सवारीमा सवार सुरुङ्गाकी १० वर्षीया बालिका निरूसा प्रसाई भने सकुशल रहेकी छन्।

​दुर्घटनालगत्तै उद्धार गरी घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)