चन्द्रगढी । सुनसरी जिल्ला स्थित धरानको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको सेवा भरपर्दो नभएको भन्दै फ्याकल्टी, जुनियर रेसिडेन्ट एवं विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा सुविसुको एकाधिकार भएको तर सेवा भने ज्यादै सुस्त एवं दयनीय अवस्थामा रहेको भन्दै फ्याकल्टी, रेसिडेन्ट एवं विद्यार्थीहरुले ईन्टरनेट सेवा प्रदायक सुविसुको विकल्प खोज्नुपर्ने माग गर्दै आन्दोलन शुरु गरेका हुन् ।
उनीहरुले मंगलबारदेखि प्रतिष्ठानको उपकुलपति कार्यालय अघि धर्ना दिइरहेका छन् । दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना कार्यक्रम रहेको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता डा.पदम नेपालीले जानकारी दिए । उनका अनुसार धेरै सेवाग्राही भएको प्रतिष्ठानमा सहुलियतमा सेवा पाउनुपर्नेमा बाहिरभन्दा महंगो दर छ भने सेवा पनि सुस्त छ । एउटा डिभाइसमा लगइन भयो भने अर्को डिभाइसमा इन्टरनेट चलाउन सकिँदैन । ‘मैले मोवाइलमा जडान गर्दा ल्यापटपमा चल्दैन, भनेको जति स्पिड पनि हुदैन ।
हामीले इन्टरनेटबाटै अध्ययन गर्ने तथा रिसर्च हेर्ने हो । भिडियो कन्फ्रेन्स गर्नुपर्ने हुन्छ, तर इन्टरनेट सुस्त भएर ज्यादै दुःख पाइराखेका छौं ।’ उनले भने । मानसिक विभागका सहायक प्राध्यापक डा.मधुर बस्नेतले आफु विद्यार्थी हुँदादेखि इन्टरनेटको गुणस्तरबारे आवाज उठाइरहेको तर अझैसम्म पनि समाधान नहुनु दुःखद भएको बताए । ‘इन्टरनेट खाना जतिकै आधारभुत आवश्यकता भइसकेको छ, म विद्यार्थी हुँदादेखि आन्दोलन शुरु गरेको, अहिले एसोसिएट प्रोफेसर भइसक्दा पनि समस्या यथावत छ ।’ उनले भने ।
शिक्षक कल्याण समाजका महासचिव डा. सुर्य रिमालले इन्टरनेट सेवा प्रदायक संस्थाको बिरुद्ध नभै गुणस्तरीय इन्टरनेट सेवा सुविधा पाउनुपर्ने माग भएको बताए । एउटा नगरपालिका वा गाउँपालिकाको जति प्रयोगकर्ता प्रतिष्ठान भित्रै रहेको भन्दै उनले यसरी कुनै एक प्राइभेट सस्थालाई मात्र फाइदा हुने गरि एकाधिकार दिन नमिल्ने बताए । प्रतिष्ठानमा करिब ९ बर्षदेखि सुविसुले ठेक्कामार्फत इन्टरनेट सेवा दिइरहेको छ ।
पहिलो ५ बर्ष ठेक्का पाएको सुविसुसँग प्रतिष्ठानले पछि थप ५ बर्षको लागि नविकरण गरेको बताइएको छ । सुविसुको अझै एक बर्ष अवधि बाँकी रहेको छ । अन्य इन्टरनेट सेवा प्रदायकहरु सस्तो र राम्रो सेवा दिइरहे पनि प्रतिष्ठानमा अन्य इन्टरनेट सेवा लिन पाइदैन । प्रतिष्ठानभित्र ५ हजारभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरु छन् ।

















