समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

धरानको जंगलमा मृत भेटिएकी महिला प्रकरण: श्रीमानले ५ लाख भारुमा दिएका थिए सुपारी

सुनसरी, धरान । धरानको पञ्चकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या श्रीमान् प्रेम दाहालको योजनामा भएको खुलेको छ। प्रहरी अनुसन्धानबाट उनी आफ्नी श्रीमतीको हत्या गराउन भारतका एक नागरिकलाई पाँच लाख भारुमा सुपारी दिएको खुलासा भएको हो।

Advertisement

गत सोमबार गोठालाहरूले धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा लसुनेको रुखमुनि एक महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय, विराटनगरको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो।

Advertisement

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार कोरियामा वैदेशिक रोजगारीमा रहेका प्रेम दाहाल पत्नीको हत्या गराउने योजनासहित केही समयअघि नेपाल आएका थिए। ‘भारु पाँच लाखको सुपारी दिइएको थियो,’ एक अनुसन्धान अधिकृतले बताए, ‘हत्या अघि श्रीमान्ले ३० हजार रुपैयाँ एडभान्स दिइसकेका थिए भने बाँकी रकम काम सकिएपछि दिने भनिएको थियो।’

प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरिसकेको छ भने कूल छ जना घटनामा संलग्न रहेको देखिएको छ। उनीहरूमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि पेश गरिएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भिम दाहालका अनुसार घटनाको विस्तृत विवरण आज अपराह्न ५ बजे इलाका प्रहरी कार्यालय धरानमा आयोजना हुने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ। प्रहरीले हालसम्म पक्राउ परेका व्यक्तिहरूको पहिचान खुलाएको छैन।

मृतक चुनुकुमारी धनकुटाको महालक्ष्मी नगरपालिका–२ की स्थायी बासिन्दा हुन्। करिब दुई वर्षअघि आफ्नो छोरालाई पढाउनको लागि उनी सुनसरीको इटहरी उपमहानगरपालिका–२, हलगडामा डेरा गरी बस्दै आएकी थिइन्।

प्रहरीले हालसम्म हत्याको ठोस कारण भने नखुलेको जनाएको छ। घटनाको पछाडि रहेका वास्तविक उद्देश्यबारे पत्रकार सम्मेलनपछि थप विवरण आउने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article