झापा । नेपाल सरकारले अवैध रूपमा बढिरहेको अनलाइन सट्टेबाजी नियन्त्रण गर्न ठूलो डिजिटल अभियान सुरु गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँगको समन्वयमा हालसम्म ७ हजारभन्दा बढी सट्टेबाजी सम्बन्धी एप र वेबसाइटहरू पूर्ण रूपमा बन्द गरेको छ।
मन्त्रिपरिषदको स्वीकृत १०० बुँदे ‘शासकीय सुधार’ कार्यसूचीको बुँदा नम्बर ४२ अनुसार प्राधिकरणले सट्टेबाजीसम्बन्धी सबै डिजिटल प्लेटफर्महरू २४ घण्टाभित्र पहिचान गरी बन्द गर्ने प्रावधान लागू गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार, विगत एक हप्तामा मात्र ५० भन्दा बढी उजुरीहरू प्राप्त भएका थिए। यी उजुरीहरूलाई सम्बोधन गर्दै अवैध सट्टेबाजीको सञ्जालमाथि डिजिटल रोक लगाइएको छ।
नेपालको कानूनमा अनलाइन सट्टेबाजी गम्भीर अपराध मानिन्छ। अपराध संहिताको दफा १२५ (४) अनुसार उल्लंघन गरेमा रकम जब्त, एक वर्षसम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ। विज्ञापन ऐनअनुसार सट्टेबाजी प्रवर्द्धन गर्ने विज्ञापनहरू पूर्ण निषेध छन्।
सरकारले चेतावनी दिदै स्पष्ट पारेको छ कि अनधिकृत रूपमा सञ्चालन वा प्रयोग पाइएमा कडा कानूनी कारबाही हुनेछ।


















