काँकडभिट्टा, झापा पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने यात्रुहरूलाई विभिन्न बहानामा हैरानी दिने कार्यमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला झापा, मेचीनगर नगरपालिका वडा नम्बर ६ मा अवस्थित मेची भन्सार कार्यालय, बसपार्क तथा आसपासका बजार क्षेत्रमा विशेष सक्रियता देखाउँदै प्रहरीले उनीहरूलाई समातेको हो।

​विशेष गरी भारतका विभिन्न स्थानबाट आफ्नो व्यक्तिगत वा व्यावसायिक कामको सिलसिलामा नेपाल आउने यात्रुहरूलाई काँकडभिट्टा बजार, होटल, अस्पताल तथा धार्मिक क्षेत्रहरूमा पुर्‍याइदिने वा सम्पर्क गराइदिने बहानामा तानातान गर्ने र अनावश्यक मानसिक तनाव दिने गरेको उजुरीका आधारमा यो कारबाही गरिएको हो। सोमबार बिहान करिब ८:३० बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष टोलीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

​यसरी पक्राउ पर्नेहरूमा सबै पुरुष रहेका छन्। उनीहरूले सार्वजनिक स्थलमा यात्रुहरूलाई असुरक्षित महसुस गराउने गरी तानातान गर्ने र दुःख दिने गरेको प्रहरीको ठहर छ। हाल नियन्त्रणमा लिइएका सबै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर आवश्यक अनुसन्धान तथा थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रशासनले जानकारी दिएको छ। सीमा क्षेत्रमा हुने यस्ता गतिविधिले पर्यटक र यात्रुमा नकारात्मक सन्देश जाने भएकाले प्रहरीले निगरानी बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार