झापा । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका बिर्तामोड नगरपालिका–३, झापाका बिमल राजवंशी ओमनमा पक्राउ परेका छन् । इन्टरपोलको ‘रेड नोटिस’का आधारमा पक्राउ परेका उनलाई प्रहरी टोलीले काठमाडौँ ल्याएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ मे १३ मा उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो ।

नेपाल प्रहरीको नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँ र एनसीबी मस्कट (ओमन) को संयुक्त पहलमा ओमनमा पक्राउ परेका राजवंशीलाई कतार एयरवेजको उडानमार्फत नेपाल फिर्ता ल्याइएको हो ।
पक्राउ परेका राजवंशीमाथि जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
