समाचार
हल्दिबारी संवाददाता ८ घण्टा अगाडि

कानुन कार्यन्वयन नहुँदा लागूऔषधको वृद्धि

नेपालको कानुनी व्यवस्था अनुसार लागूऔषध सबैभन्दा बढी दण्ड सजाय हुने अपराध हो । सांघातिक आक्रमण गरी वा पासविक तवरले व्यक्ति हत्या गर्ने कसुरदारलाई भन्दा यस अपराधमा बढी सजाय हुन्छ । सामान्यतया लागूऔषध भन्नाले त्यस्तो पदार्थ हो, जसको सेवन गर्नाले सेवनकर्ताको केन्द्रीय स्नायु प्रणालीमा प्रत्यक्ष असर पारी व्यवहारमा असामान्य परिवर्तन गराउँछ । केन्द्रीय स्नायु प्रणाली भन्नाले शरीरमा चेतना सञ्चालन गर्ने नसाहरूको सञ्जाल भन्ने बुझिन्छ । लागूऔषध सेवन गरे त्यसले प्रत्यक्ष चेतना सञ्चालन गर्ने नसाहरूकै सञ्जालमै असर पार्ने भएकोले व्यक्तिको व्यवहारमा, तत्कालै असामान्य परिवर्तन हुन्छ ।

Advertisement

लागूऔषध मुद्दाको कसुरदारलाई एक पटकमा एक महिनामा नबढाई बढीमा तीन महिनासम्म प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नसक्ने अधिकार मुद्दा हेर्ने अधिकारीले दिनसक्छ । मुद्दा हेर्ने अधिकारी भन्नाले सम्बन्धित अदालतको न्यायाधीश भन्ने बुझिन्छ । तीन महिनसम्म प्रहरी हिरासतमा राखी अनुसन्धान गर्ने प्रावधान लागूऔषधको गाम्भीर्यताको अर्को विशेषता हो ।

Advertisement

कठोर कानुनी व्यवस्था भएर पनि लागूऔषध अपराधको प्रभाव एवं विस्तार अत्यधिक बढेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको आ.व. २०८१/०८२ र २०८२/०८३ कै तुलनात्मक तथ्यांकले यो पुष्टि गर्दछ । वर्षमा भएका कूल अपराध संख्यामध्येमै करिब २५ प्रतिशत त लागूऔषधकै मात्र भएको तथ्यांकले बताएको छ । यो राष्ट्रकै लागि गम्भीर समस्या हो । चालु आ.व २०८२/०८३ को हालसम्मको फौजदारी अभियोगसँग सम्बन्धित २० हजार ७०८ मुद्दा फैसला हुँदा, ५ हजार ६१ मुद्दा त लागूऔषधकै मात्रै थिए । यो संख्या कूल फौजदारी मुद्दाको २४.४४ प्रतिशत हो ।

यसैगरी मुलुकभरका अदालतमा हाल विचराधीन अवस्थामा रहेका कूल १० हजार ८१७ मुद्दामध्येमा पनि लागूऔषध कसुरका मात्रै २ हजार ८ सय २८ छन् । यो पनि कूल विचाराधीन मुद्दा संख्याको २६.४३ प्रतिशत हो । यो तथ्यांकले घटित अपराधमध्ये २५ प्रतिशत लागूऔषधकैमात्र भएको प्रमाणित गर्दछ । मुलुकमा घट्ने एक चौथाइ अपराध लागूऔषधकै मात्र हुनु, अपराधमा अधिकांश त टिनएजर युवायुवतीहरूकै संलग्नता रहनु सालिन्दा अपराध बढ्नु, कसुरदार पक्राउ र कारागार चलान हुने दर वृद्धि भइरहँदा पनि अपराधमा कमी नआउनु तथा मुलुकभरका ७४ कारागारमा हाल भएका २६ हजार ६९५ कैदी बन्दीमध्ये २६.९४ प्रतशित वा ७ हजार १९४ लागूऔषधकैमात्र हुनुले एकातिर यो अपराधले विकराल रूप लिएको संकेत गर्दछ भने अर्कोतर्फ घरपरिवार, समाज र शिक्षणसंस्था यसप्रति संवेदनशील नबनेको आभाष दिलाउँछ ।

यसर्थ सिंगो समाजकै सम्बद्ध पक्षहरू यसतर्फ गम्भीर नबने यसको प्रभाव भविष्यमा नियन्त्रण बाहिर पुग्ने देखिन्छ । लागूऔषधलाई उत्पादनको आधारमा । असरको आधारमा र दण्डसजायको आधारमा गरी तीन समूहमा वर्गिकरण गरी अध्ययन विश्लेषण गर्नुपर्दछ । उत्पादनको आधारमा प्राकृतिक एवं प्रशोधित वा परिमार्जित लागूऔषध । असरको आधारमा सामान्य एवं कडा लागूऔषध । दण्ड सजायको आधारमा कम र बढी दण्ड सजाय हुने लागूऔषध आदि । दृष्टान्तको निम्ति गाँजा कम दण्ड सजाय हुने लागूऔषध हो । गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

गाँजा खेती गर्नेको हकमा २५ बोटसम्म खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुन्छ । यसैगरी गाँजा उत्पादन, तयार, खरिद, बिक्रीवितरण, निकासी वा पैठारी, ओसारपसार र सञ्चय गर्नेलाई १० केजीभन्दा माथि जतिसुकै परिणाम भए पनि दुई वर्षदेखि दश वर्षम्म कैद र १५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अफिम कोका वा सोबाट बनेको लागूऔषध सेवन गर्नेलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुन्छ । २५ बोटसम्म अफिम वा कोका खेती गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पचीस हजार रुपैयाँसम्म जरिवाना हुन्छ । २५ बोटाभन्दा माथि जतिसुकै परिमाणको अफिम वा कोकाको खेती गर्नेलाई तीन वर्षदेखि दश वर्षसम्म कैद र २५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यसको साथै एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको अफिम वा कोकाको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्म कैदसम्म र ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी प्रावधान छ । जुन हाल प्रचलित कानुनमै भएको सबैभन्दा कठोर दण्ड सजाय हो । लागूऔषध मुद्दाको कसुरदारलाई एकपटकमा एक महिनामा नबढाई बढीमा तीन महिनासम्म प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नसक्ने अधिकार मुद्दा हेर्ने अधिकारीले दिनसक्छ । मुद्दा हेर्ने अधिकारी भन्नाले सम्बन्धित अदालतको न्यायाधीश भन्ने बुझिन्छ । तीन महिनसम्म प्रहरी हिरासतमा राखी अनुसन्धान गर्ने प्रावधान लागूऔषधको गाम्भीर्यताको अर्को विशेषता हो ।

लागूऔषध अपराधलाई यस्तो कठोर दण्ड सजायको व्यवस्था किन गरियो ? त्यसको तात्पर्य वा आशय, कानुन आउनु अघि र पछिको अपराधको स्थिति, कानुन कार्यान्वयनको अवस्था तथा लागूऔषधप्रतिको विद्यमान सामाजिक दृष्टिकोण कस्तो छ ? भन्ने बारेमा चर्चा नगरिए यो स्तम्भ अधुरो हुन्छ भन्ने स्तम्भकारको मान्यता भएकाले त्यसबारेमा पनि संक्षिप्त चर्चा गरौं ।

१. कानुनको आसय
दुर्व्यसनी वा कारोबार गर्नेलाई फसाउने वा दण्ड सजाय दिलाएर पीडामात्रै दिने होइन, व्यक्तिको आचरण र व्यवहार सुधार्ने कानुनको मुख्य उद्देश्य हो हामीले बुझ्नुपर्दछ । कुनै व्यक्ति यस्तो कठोर दण्ड सजायको भागिदार बने, त्यो देख्ने, सुन्ने र थाहा पाउने अन्य सयौं व्यक्ति नै सचेत बन्छन् । अपराध गर्न हच्कन्छन् । वास्तवमा निष्पक्ष एवं पारदर्शी दण्ड सजायले समाजमा सकारात्मक प्रभाव पार्ने भएकाले दण्ड सजाय अपराध नियन्त्रणको कोसेढुंगा बन्छ, हामीले बुझ्नुपर्दछ । दण्ड सजायले गलत बाटोमा हिँड्नेलाई सही बाटोमा ल्याउने वा अनुशासनको दायरामा ल्याउने कार्य गर्दछ तर दण्ड सजायलाई दुःख कष्ट दिने, हकअधिकारमा बन्देज लगाउने माध्यमको रूपमा हेर्ने हाम्रो सामाजिक दृष्टिकोण अझै यथावत छ ।

लागूऔषधको खेती, उत्पादन, निर्माण, संकलन, ओसारपसार र बिक्री-बितरणले तत्कालका लागि व्यक्तिलाई आर्थिक रूपमा लाभान्वित बनाए पनि उसको दीर्घ जीवनको निम्ति घातक बन्छ । यसर्थ कानुनको आसय बुझेर क्षणभरको आनन्दले जीवनलाई मृत्युको मुखमा नधकेलौं । लोभमा फसेर आफ्नोमात्र होइन परिवारकै भविष्य अन्धकारमा नपारौं । कानुनमा उल्लिखित दण्ड सजाय हामीलाई सुधार्नकै निम्ति हो भन्ने ठानेर होसियार बनेमात्र सबैले कानुनको आसय बुझेको पुष्टि हुनेछ ।

२. लागूऔषध सेवनको पृष्ठभूमि
लागूऔषधको पष्ठभूमितर्फ फर्कने हो भने हामीले वैदिक युगमा पुग्नुपर्ने हुन्छ । हुन त आरध्यदेव महादेवले नै भाङ धतुरो खान्थे भन्ने कुरा त धार्मिक ग्रन्थहरूमै उल्लेखित भएकै छ । वैदिक युगमा पनि तपस्वी ऋषि महर्षिहरूले तनाव वा चिन्ताबाट मुक्तभई आनन्दित बन्न नसालु पदार्थ वा लागूऔषध सेवन गर्दथे भन्ने विदितै छ । तर, त्यस जमानामा प्राकृतिक रूपमै उत्पादन हुने वा निर्मित एवं परिमार्जित नगरी प्रयोग गरिएका नसालु पदार्थ लागूऔषधकै वर्गमा समेटिए पनि त्यस्ता चिजवस्तु अपराधको परिभाषाभित्र समेटिएका थिएनन् ।

कानुन निर्माणमा हाम्रो देश अग्र स्थानमा आउँछ तर कानुनको प्रयोग गराइमा भने सम्भवतः विश्वमै सबैभन्दा पछि होला । यथा अवस्थामै कानुनको प्रयोग नगर्नु, विभेदित ढंगले कानुनको प्रयोग गर्नु र कार्यकारी प्रमुख प्रधानमन्त्रीकै इच्छामा कानुनको प्रयोग हुनेगरेको विगतकै अवस्थाकै प्रभाव नै कार्यान्वयनमा देखिएको मुख्य चुनौती हो ।

शताब्दीऔं पहिले बिरलै व्यक्तिले सेवन गर्दै आएको यस प्रकारको पदार्थको प्रभाव र आकर्षण भने दिनानुदिन बढ्दै आएपछि सर्वप्रथम विसं २०२०/०२२ सालतिरै यस्ता नसालु पदार्थको नियन्त्रणको निम्ति कानुन निर्माण गर्ने योजना बने पनि लागू गरिएन । त्यसको करिब एक दशकपछि वा विसं २०३३ सालमा ऐनकै प्रावधान बनाएर यसलाई बन्देजमा ल्याइयो । तथापि ऐन आएको ५० वर्षपछि पनि यो पूर्णरूपमा नियन्त्रण हुनसकेको छैन । अझ विस्तारित अवस्थामा छ । कानुनप्रतिको जनचासोको अभाव यसको मुख्य कारण हो । कानुन जनस्तरसम्म नपुगे कागजी कानुनको व्यवस्थाले मात्र जनता सजग गराउँदैन । कानुन निर्माण गर्ने तर कार्यान्वयन गर्ने निकाय मौन रहने प्रवृत्ति प्रभावकारी कार्यान्वयनको बाधक बनेकाले लागूऔषध अपराध पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको हो । यसतर्फ सम्बन्धित संघसंस्थादेखि राज्यले ध्यान पुर्‍याउनुपर्दछ ।

३. कानुन कार्यान्वयनको अवस्था
कानुन निर्माणमा हाम्रो देश अग्र स्थानमा आउँछ तर कानुनको प्रयोग गराइमा भने सम्भवतः विश्वमै सबैभन्दा पछि होला । यथा अवस्थामै कानुनको प्रयोग नगर्नु, विभेदित ढंगले कानुनको प्रयोग गर्नु र कार्यकारी प्रमुख प्रधानमन्त्रीकै इच्छामा कानुनको प्रयोग हुनेगरेको विगतकै अवस्थाकै प्रभाव नै कार्यान्वयनमा देखिएको मुख्य चुनौती हो । यही पृष्ठभूमिमा कतिपय कानुन प्रतिपक्षी, विरोधी, प्रतिस्पर्धी, आलोचक र निरीह व्यक्तिकै निम्ति प्रयोगमा ल्याइएका छन् । सत्ताभक्त, चाकडीदार, आफन्त, सहयोगी, सहकर्मीले जस्तोसुकै अपराध गरे पनि कानुन नलाग्ने मौखिक नजिरै कार्यकारी प्रमुख प्रधानमन्त्रीले स्थापित गराएको विगतका अनेकौं दृष्टान्त छन् ।

यही विभेदित कानुनको प्रयोगले अपराधी प्रोत्साहित हुँदै आएका हुन् । यही क्रममा लागूऔषध कारोबारी र तस्कर त विगतमा सत्ता सञ्चालककै आम्दानीको स्रोत बन्दैआयो र बनेका छन् । यस्तै राष्ट्रघाती अपराधीलाई साथमा लिएर नेताले मुलुक चलाउँदै ल्याए । नदीका दुई किनारा बन्नुपर्ने अपराध र राजनीति हाम्रोमा सिक्काको दुईपाटा बन्नुको कारणकै प्रभाव अहिले पनि व्याप्त रहँदा नै यो अपराधको दर अत्यधिक बढेको हो ।

४. लागूऔषध प्रतिको सामाजिक दृष्टिकोण
आर्जनमुखी राजनीतिले मुलुकलाई धराशयी र समाजलाई बिखण्डित गराएको छ । सार्वजनिक हित र कल्याणका कार्यहरू नै नगदमा विनिमय भइरहेका छन् । अरूलाई परेको दुःख कष्टमा साथ नदिने, आफूलाई परे अर्कोले वास्ता नगरेको ठान्ने प्रवृत्ति चुलिएको छ । कतिपय स्वच्छ छवि भएकै व्यक्तिहरू नै वातावरणीय प्रभावले छायाँमा परेका छन् । राजनीतिक प्रभावको कारण समाज नै विखण्डित हुँदा लागूऔषधविरुद्ध समाज एक हुनसकेको छैन । कतिपय स्वार्थी व्यक्ति यही सामाजिक अन्यौलतालाई अवसरको रूपमा प्रयोग गर्दै लागूऔषधको धन्दामा लागेको देखिन्छ । यो आर्जनमुखी राजनीतिकै विकृतिको उपज हो । यदि लागूऔषधविरुद्ध समाज नै एकजुट बन्ने हो भने, यो पूर्ण रूपमा नियन्त्रण हुनसक्छ तर यसको निम्ति उदारवादी राजनीतिक दृष्टिकोण सामाजिक चिन्तन, प्रबुद्ध व्यक्ति र समाजसेवी तथा आमनागरिकहरूकै सहकार्यको एकता भने अनिवार्य छ ।

समाजमै हुने लागूऔषध अपराधको, पीडक र पीडित पनि समाजमै हुन्छन् । को कस्तो छ, के पेसा गर्छ ? आयस्रोत र हैसियत कसको कस्तो छ ? भन्ने कुरा नै पारदर्शी हुन्छ । यसर्थ सिंगो समाज नै लागूऔषधविरुद्ध एकत्रित बन्ने हो भने, सेवनकर्ता, उत्पादनकर्ता, सञ्चयकर्ता, ओसार–पसारकर्ता, निकासी पैठारीकर्ता पर्दैन । यसतर्फ वर्तमान सरकारले विशेष ध्यान पुर्‍याओस् ।


श्रोत :- दिव्य दृष्टि , प्रहरी बुलेटिन , गृह मन्त्रालय वाट प्रकाशित बुलेटिन , विभिन्न पत्र पत्रीका ।

इन्द प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल
विर्तामोड ४ झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article