हल्दीबारी । झापा जिल्ला प्रशासन कार्यालयले आफ्ना विभिन्न सातवटा सेवाहरूलाई भौतिक उपस्थिति बिना नै प्राप्त गर्न सकिने गरी ‘फेसलेस’ बनाएको छ। नयाँ व्यवस्था अनुसार अब उप्रान्त व्यक्ति, संस्था वा निकायका प्रतिनिधिहरू सेवा लिनका लागि स्वयं कार्यालयमा धाउनुपर्ने छैन। सेवाग्राहीको सुविधाका लागि तोकिएको डेडिकेटेड इमेल, अनलाइन पोर्टल, ह्वाट्सएप नम्बर तथा टेलिफोन जस्ता माध्यमहरू प्रयोग गरी सहजै सेवा पाउने व्यवस्था मिलाइएको छ। यी सुविधाहरूको एकीकृत व्यवस्थापनका लागि कार्यालयले डेडिकेटेड हेल्प डेस्कसमेत स्थापना गरी सञ्चालनमा ल्याएको छ।

फेसलेस बनाइएका सेवाहरूमा परम्परागत रूपमा सञ्चालन गरिने धार्मिक, सांस्कृतिक पर्व, जात्रा, उत्सव तथा मेला इत्यादि सञ्चालनको अनुमति र शान्ति सुरक्षा सम्बन्धी सेवा रहेका छन्। यसैगरी राजनीतिक तथा सामाजिक कार्यक्रम सञ्चालन सम्बन्धी जानकारी, अनुमति र शान्ति सुरक्षा सम्बन्धी सेवाका साथै जातीय प्रमाणित सिफारिस सम्बन्धी सेवाहरूलाई पनि यस प्रणालीमा समेटिएको छ। यी तीन प्रकारका सेवाहरूका लागि निवेदन तथा कागजात पठाउन जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा गुगल फर्मको लिङ्क (https://forms.gle/ERPkaQXRtU6q4wg19) उपलब्ध गराइएको छ।

त्यस्तै, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड गरिदिने सेवा, राष्ट्रिय परिचयपत्रको अवस्था (status) बुझ्ने सेवा तथा राहदानीको अवस्था बुझ्ने सेवाहरूका लागि हेल्प डेस्कको डेडिकेटेड ह्वाट्सएप नम्बर ९८५२६५२०६६ मार्फत सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ। प्रहरी सर्जमिन तथा चालचलन बुझ्ने सेवाका लागि भने डेडिकेटेड इमेलको व्यवस्था मिलाइएको छ। तोकिएका यी सेवाहरू प्राप्त गर्न चाहने व्यक्ति वा संस्थाले निवेदनका साथ आफ्नो इमेल वा ह्वाट्सएप नम्बर उल्लेख गर्नुपर्नेछ र माग गरिएका सेवा सम्बन्धी विवरण वा जानकारी सोही इमेल वा ह्वाट्सएप मार्फत नै उपलब्ध गराइने कार्यालयले जनाएको छ।

